काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, इजरायल र इरानबीच जारी तनाव अन्त्य गर्नका लागि एउटा महत्वपूर्ण समझदारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनले यसलाई औपचारिक घोषणा गर्न केही प्राविधिक पक्ष मात्र बाँकी रहेको उल्लेख गरेका छन्।

मध्यपूर्वका विभिन्न राष्ट्रका नेताहरूसँग फोन संवाद गरेपछि ट्रम्पले उक्त सम्झौतामा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट खोल्ने विषय पनि समेटिएको जानकारी दिएका हुन्।

शनिबार उनले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका शीर्ष नेतासँग छलफल गरेका थिए। यसअघि उनले इजरायली प्रधानमन्त्रीसँग पनि अलग वार्ता गरेका थिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौताका बाँकी पक्षहरूबारे अन्तिम छलफल भइरहेको र छिट्टै सार्वजनिक गरिने बताएका छन्।

यसैबीच पाकिस्तानका प्रधानमन्त्रीले अमेरिका–इरान वार्तालाई सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने टर्कीले पनि सम्झौताप्रति सकारात्मक प्रतिक्रिया दिएको छ। इजिप्टले सबै पक्षलाई कूटनीतिक अवसरको उपयोग गर्न आग्रह गरेको छ।

यद्यपि, सम्झौताका सर्तहरूबारे अमेरिका र इरानबीच मतभेद देखिएको छ। अमेरिकी पक्षले इरानले उच्च स्तरको युरेनियम भण्डारण त्याग्ने प्रतिबद्धता जनाएको बताएको छ भने इरानी अधिकारीहरूले आणविक कार्यक्रमबारे हालको सम्झौतामा स्पष्ट उल्लेख नभएको बताएका छन्। उनीहरूका अनुसार यो विषय आगामी वार्तामा टुंग्याइनेछ।

इरानले भने सम्भावित सम्झौताले क्षेत्रीय युद्ध अन्त्य गर्ने, होर्मुज स्ट्रेट खुला गर्ने, अमेरिकी नाकाबन्दी हटाउने र रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने दाबी गरेको छ।

यसअघि ट्रम्पले इरानलाई सम्झौताका लागि दबाब दिँदै कडा चेतावनी पनि दिएका थिए। अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यदेखि इरानमाथि सैन्य कारबाही थालेका थिए भने पछिल्लो समय ठूलो स्तरको झडप घटेको छ।

सम्झौताका मुख्य विवादित विषयहरूमा आणविक कार्यक्रम, होर्मुज स्ट्रेटको नियन्त्रण, क्षेत्रीय सुरक्षा र आर्थिक प्रतिबन्धहरू रहेका छन्।

यसबीच अमेरिकाभित्रै पनि सम्भावित सम्झौताप्रति विरोध देखिएको छ। केही नेताहरूले इरानलाई थप शक्तिशाली बनाउने खालको सम्झौता भए गम्भीर परिणाम आउने चेतावनी दिएका छन्।