काठमाडौं । तीनदिने नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्यकी इण्डो–प्यासिफिक तथा समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शिक्षा क्षेत्र, विशेषगरी प्राविधिक शिक्षा र सीप विकासमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजद्वारा आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक कार्यक्रममा बोल्दै उनले शिक्षा र रोजगारीबीचको सम्बन्ध मजबुत बनाउन आवश्यक रहेको बताइन् ।

उनका अनुसार दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मानव पूँजी विकास मुख्य प्राथमिकता हुनेछ । नेपालमा बेलायती शैक्षिक संस्थासँगको सहकार्य र विद्यार्थी आदान–प्रदानले आपसी सम्बन्ध अझ मजबुत बनाएको उनले उल्लेख गरिन् ।

भ्रमणका क्रममा उनले अर्थ, परराष्ट्र, शिक्षा तथा अन्य उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेकी छन् । ती छलफलमा दीर्घकालीन लगानी, शैक्षिक सहयोग र बहुक्षेत्रीय साझेदारीका विषयमा विचार आदान–प्रदान भएको बेलायती दूतावासले जनाएको छ ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूले समावेशी शिक्षा, प्राविधिक तालिम र सुशासनमा वैदेशिक सहकार्य आवश्यक रहेको धारणा राखे ।

त्यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का पूर्व अधिकारीहरूले सीप विकास प्रणाली सुदृढ गर्न बेलायती मोडल र गुणस्तर मापन प्रणाली अपनाउन सकिने सुझाव दिए ।

शैक्षिक परामर्श क्षेत्रका प्रतिनिधिहरूका अनुसार हाल नेपालबाट ठूलो संख्यामा विद्यार्थी उच्च अध्ययनका लागि बेलायत जाने गरेका छन्, जसले दुई देशबीच शैक्षिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।