काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो १० महिनामा बीमा शुल्कमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार देशभरका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल रु. ४० अर्ब २९ करोड ५७ लाख बराबर बीमा शुल्क संकलन गरेका छन् ।
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८१ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बीमा कम्पनीहरूले करिब रु. ३५ अर्ब ९ करोड ८० लाख प्रिमियम उठाएका थिए ।
समीक्षा अवधिमा सबै निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भएको देखिएको छ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिँदा घर, सवारीसाधन तथा उद्योगको बीमा अनिवार्य गरिने प्रावधानले पनि बीमा क्षेत्रको विस्तारमा टेवा पु¥याएको छ ।
यससँगै सवारीसाधनको संख्या बढ्दै जानु, जोखिमप्रति जनचेतना वृद्धि हुनु, कानुनी प्रावधानको कडाइ तथा आर्थिक गतिविधि विस्तार हुनुजस्ता कारणले पनि निर्जीवन बीमा व्यवसायको आकार निरन्तर बढिरहेको देखिन्छ ।
शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको हो । शिखर इन्स्योरेन्सले सो अवधिसम्म कुल ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेको छ ।
यस्तै, गत आवको तुलनामा यस अवधिसम्ममा सबैभन्दा बढी व्यवसाय वृद्धि गर्नेमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । हिमालयन एभरेष्टले ४२.०५ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ भने एनएलजीले पनि ४२.०४ प्रतिशतले वृद्धि गरेको छ ।







