काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन् ।

आजै साँझ हिमालय एयरलाइन्सबाट थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन ।