आर्थिक भ्वाइस संबाददाता

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बृहत्तर गुरुयोजना तयार गर्दै छ । उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भौतिक संरचना तथा विभिन्न पूर्वाधार निर्माण गर्न तथा दिगो विकासका निम्ति गुरुयोजना बनाइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

उपत्यकाको आर्थिक, सामाजिक तथा भौतिक संरचनालाई व्यवस्थित बनाई आगामी दिनमा आधुनिक र व्यवस्थित सहरको विकास गरी भौतिक विकास गुरुयोजना बनाएर उपत्यका विकास गर्ने उद्देश्य अनुसार गुरुयोजना बनाइरहेको प्राधिकरणका सूचना अधिकारी ई। सौरभ ढकालले बताए ।

उनले गुरुयोजना आउँदो फागुनसम्म बनिसक्ने र छिट्टै लागु गर्ने बताए । ‘सबै पालिकाहरूसँग कोर्अडिनेशन पनि भइरहेको छ ’। उनले भने, ‘यो वर्ष गुरुयोजना तयार गरी मन्त्री परिषद् बाट स्वीकृत गरी लागु गराउने योजना छ । गुरुयोजना तयार भइसकेपछि १८ वटै नगरपालिकाले स्वामित्व लिने गरी काठमाडौँलाई व्यवस्थित गर्ने मास्टर योजना तयार हुदैछ ।’ उक्त मास्टर प्लान काठमाडौँलाई कसरी व्यवस्थित रूपमा कसरी विकास गर्ने भन्ने आधार तयार भइरहेको उनको भनाई छ ।

गत आर्थिक वर्षमा ८० प्रतिशत काम सम्पन्न

यता प्राधिकरणले गत आर्थिक वर्षमा ८० प्रतिशत कार्य सम्पन्न गरेको छ । प्राधिकरणले ७५ प्रतिशत वित्तीय प्रगती गरेको उनले बताए । सडक बिस्तारमा १५ किलोमिटरको तोकिएको थियो जसमा ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणका सूचना अधिकारी इन्जिनियर सौरभ ढकालले बताए । उपत्यकाका ३ वटै जिल्लामा १६ वटा पार्क मध्ये १४ वटा पार्क निर्माण भैसकेको , बाकी रहेका पार्कहरुको निर्माण भैरहेकोे रहेको उनको भनाई छ।

करिडोर खोल्ने र सडक बिस्तारका कार्यहरु

उनका अनुसार, चालु आर्थिक वर्षमा कोरिडोर खोल्ने, स्तर उन्नति गर्ने, सार्वजनिक जग्गा संरक्षण र सडक बिस्तारको कार्यहरु नै प्राथामिकतामा परेका छन् ।
काठमाडौं महानगरपालिका र तार्केश्वर नगरपालिकामा पर्ने महादेव खोलाको कोरिडोरको काम भइरहेको छ । २० करोडको ठेक्कामा गत आर्थिक वर्षबाट काम भइरहेको उनको भनाई छ ।

तार्केश्वर र टोखा नगरपालिकाको सिमानामा साङ्ले खोला कोरिडोरको खोल्ने काम भएको छ । चालु आर्थिक वर्षमा गोदावरी खोलामा १५ लाख , साङ्ले खोलामा १५ लाख महादेव खोलाको करिडोरमा करिब १० करोड छुट्टाइएको छ । यसको निर्माण कार्य २० प्रतिशत सकिएको छ। चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसक्ने उनले बताए । गोदावरी खोलामा केही विवाद भएका कारण अहिले काम रोकिएको उनको भनाई छ ।

त्यसै गरी सार्वजनिक जग्गा संरक्षण गरी पार्क बनाउने तथा सडक बिस्तारका काम तथा जग्गा एकिकरण, ल्याण्ड पुलिङको काम कसरी अगाडी बढाउने भनेर पालिकाहरूसँग समन्वय गरिरहेको उनको भनाई छ ।

टुक्रे आयोजनामै सिमित

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा टुक्रे आयोजनामा केन्द्रित भएर काम गरिरहनु परेको सूचना अधिकारी ढकालको भनाई छ ।
‘प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरू साना र टुक्रे आयोजनाहरू मात्र छन् । त्यस कारण सबै सडक विस्तार तथा मर्मत आयोजना निर्धारित समयमै सम्पन्न हुँदैआएका छन्’ उनले भने । बजेट थोरै भएका कारण टुक्रे काम भइरहेको उनको भनाई छ ।