काठमाडौं । भारत सरकारले प्याजमा निर्यात शुल्क लगाउने भएको छ । भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको हो । भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ ।

भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ बाट प्याजमा ४० प्रतिशत निर्यात शुल्क लाग्ने जानकारी गराएको छ । हालै भारतमा टमाटरको भाउ अचाक्ली बढेको थियो । तर, अहिले भारतको घरेलु बजारमा प्रतिकिलो टमाटर भारु ४०–५०मा झरेको छ ।

अहिलेसम्म प्याजको निर्यातमा कुनै पनि किसिमको कर लाग्दैन थियो । तर, हाललाई भने प्याजको निर्यात निरुत्साहित गर्दै मूल्य वृद्धिलाई नियन्त्रणमा राख्नका लागि केन्द्र सरकारले निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

नेपालबाट गत सातामात्रै ५ टन टमाटर भारत गएको थियो । अझै नेपालबाट १० टन टमाटर भारत आउँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छ ।

प्याजमा पनि टमाटरकै हाल नहोस् भन्ने उद्देश्यले भारतले निर्यात शुल्क लगाउने निर्णय गरेको हो । भारतको यो निर्णय नेपाली बजारमा प्याजको भाउ बढ्ने देखिन्छ ।

भारत सरकारकाअनुसार प्याजको मूल्य बढ्न थालेको छ । अल इण्डिया रिटेल प्राइसकाअनुसार प्याजको मूल्य १० अगस्टमा २७.९० रुपैयाँ प्रतिकेजी थियो । गत वर्ष यही समयमा भारतमा २ रुपैयाँ प्रतिकेजीमा प्याज पाइन्थ्यो ।

नेपाली बजारमा खपत हुनेमध्ये ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुन्छ । भारत सरकारले आन्तरिक बजारमा प्याजको भाउ अनियन्त्रित ढंगले ४० प्रतिशत निर्यात शुल्क लगाउन निर्णयले नेपालमा भित्रने भारतीय प्याजको भाउ पनि बढेर आउने निश्चित छ ।