काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले आज (आइतबार) साँझ साढे ५ बजे आइपीओ बाँडफाँड गर्ने जनाएको छ ।
कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो । सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा १३ लाख ९५ हजार ७० आवेदकबाट कुल १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि खरिद आवेदन परेको थियो । जुन मागभन्दा ६.८१ गुणाले बढी हो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।