काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शिक्षा ऐन २०८० को मस्यौदाप्रति असहमति जनाउँदै आएको महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे ।

महासंघले शिक्षा ऐनले शिक्षकहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको हो । हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक कर्मचारीका माग र मुद्दा सम्बोधन गर्नुपर्ने माग महासंघले गरेको छ।

‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवादसमेत जारी रहेको छ। शिक्षक(कर्मचारीका माग र मुद्दाहरू सम्बोधन नगरी संसदमा ऐन दर्ता भएमा काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलन गर्ने कुरा हामीले घोषणा गरिसकेको छौं’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रममा भदौ ४ गते प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसदहरूसँग भेटघाट तथा छलफल गरिने छ ।

भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति, पत्रकार, मानव अधिकारवादी संघसंस्थाहरुसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐव्यवद्धताको लागि पहल गरिने महासंघले जनाएको छ।

भदौ ६ गते भित्र सबै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति गठन गर्ने, महासंघको संरचना भएका जिल्ला तथा प्रदेशमा महासंघको नेतृत्वमा र त्यस्तो संरचना नभएका जिल्ला तथा प्रदेशमा शिक्षक संघ संगठनहरुसँग छलफल गरी समिति बनाउने र त्यसको विवरण केन्द्रमा पठाइने विज्ञप्तिमा उल्लेख छ।