काठमाडौं । नागरिक लगानी कोषमा गत आर्थिक बर्ष २०७९/८० को अन्तिम सम्ममा २ खर्व ,२६ अर्व, ५० करोड, ८६ लाख , ३६ हजार खुद मौज्दात रहेको छ । जुन आर्थिक वर्ष २०७८/७९ को भन्दा झन्डै २८ अर्वले बढी हो ।अघिल्लो आर्थिक वर्ष २०७८/७९को अन्तिममा कोषको मौज्दात १ खर्व, ९८ अर्व, ५३ करोड, ७१ लाख, ९२ हजार रहेको थियो । गत आर्थिक बर्षको अन्तिमसम्म कोषमा ७ लाख ५० हजार नागरिक सहभागी भएका छन् ।

कोषले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा योजनाबाट उक्त रकम संकलन भएको कोषका सूचना अधिकारी उद्धव शिलवालले आर्थिक भ्वाइसलाई बताए । उनका अनुसार, कर्मचारी बचत वृद्धि अवकाश कोष योजनाबाट मात्रै १ खर्व, ४७ अर्व, ५८ करोड, ६८ लाख, ४६ हजार जम्मा भएको छ । त्यसै गरी नागरिक एकांक योजनाबाट १ अर्व, २० करोड, ६७ लाख, ३४ हजार, उपदान कोष योजनाबाट ३४ अर्व, ८१ करोड, २५ लाख १६ हजार, लगानीकर्ता हिसाब ९ अर्व, १० करोड, ३४ लाख, ९१ हजार संकलन भएको छ ।

त्यस्तै,गत आर्थिक वर्षको अन्तिम सम्ममा राष्ट्रसेवक कर्मचारीको बीमा कोषमा ७ अर्व, ५८ करोड, ६८ लाख ५५ हजार, नार्क बीमा कोषमा १३ करोड, ७९लाख, ९४ हजार, नागरिक पेन्सन योजनाबाट १६ करोड १३ लाख ७० हजार संकलन भएको छ ।

बीमाकोष दायित्ववापत ३ अर्व, ५४ करोड, ३३ लाख ४० हजार संकलन भएको छ भने, कोषको जगेडा कोषमा २२ अर्व, ३६ करोड,९४ लाख,९० हजार संकलन भएको छ ।

कोषको लगानी

कोषले गत आर्थिक वर्षको अन्तिम सम्ममा २ खर्व, २१ अर्व, ३ करोड, ४२ लाख १२ हजार बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

कोषले नेपाल सरकारको ऋणपत्र मा ५० करोड उपयोग गरेको कोषका सूचना अधिकारी शिलवालले बताए । त्यसै गरी सबै भन्दा धेरै मुद्धती निक्षेपमा १ खर्व, १४ अर्व, ७२ करोड, ७७ लाख २० हजार लगानी गरेको छ । भने, समयकालीन कर्जामा २३ अर्व, २६ करोड, ४९ लाख,७१ हजार उपयोग गरेको छ ।

त्यस्तै, संगठित संस्थाको शेयररधितोपत्रमा २९ अर्व, ४२ करोड, ५९ लाख, १२ हजार , सहायक कम्पनीमा २ अर्व ५५ करोड उपयोग गरेको छ । सहभागी सापटी तथा आवास कर्जामा ५० अर्व, ५६ करोड, ५६ लाख नौ हजार उपयोग गरेको कोषले जनाएको छ ।

कोषको वित्तीय विवरण

कोषले गत आर्थिक वर्ष २०७९/८० मा झण्डै १ अर्ब रुपैयाँ नाफा गरेको छ । कोषले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असारसम्म खुद नाफा ३६.७४ प्रतिशत बढेर ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कोषले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

समिक्षा अबधिमा कोषले कूल आम्दानी ११.३० प्रतिशत बढेर १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।

यस अवधिमा कोषले आफ्नो खर्च पनि घटाएको छ । कोषको कूल खर्च ०.१९ प्रतिशत घटेर ६० करोड १८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष ६० करोड २९ लाख रुपैयाँ कूल खर्च गरेको थियो ।

कोषको जगेडा कोष २२ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कोषको प्रतिसेयर आम्दानी १७.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ रहेको छ । साथै, कोषको रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) अर्थात् लगानीमा प्रतिफल ९.४० प्रतिशत रहेको छ । कोषको चुक्ता पूँजी ६२.५० प्रतिशत बढेर ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ पुगेको छ।