भरतपुर । आँपटारी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएको छ । भरतपुरको आँपटारीमा २२० केभीको सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रशारण लाइन सञ्चालनमा आएको हाे ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको प्रसारणलाइन र सबस्टेशन सञ्चालनमा आएको हाे । साे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना २२०/१३२ केभी, भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा १२० केभी सबस्टेसनको एकै पटक उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम विद्युत प्रसारण लाइनको बटलनेकको रूपमा रहेको बताए । विद्युत उत्पादनमा क्षमता वृद्धि भएको बताउँदै प्रसारण लाइन र वितरण प्रणाली गुणास्तरीय बनाउनेतर्फ ध्यान दिएको उनले बताए ।

नेपालमै खपत गर्न विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजानुपर्ने उनले बताए । नेपालमा उत्पादन भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्ने वातावरण बनेको उनको भनाई छ । आगामी चीन भ्रमणमा प्रसारण लाइन बनाएर विद्युत पठाउने गरी तयारी गरेको उनले बताए ।

त्यस्तै कार्यक्रममा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत ट्रिप्लिङको समस्या समाधान हुने बताए । उनले २०७३ मा प्रधानमन्त्री दाहालको नेतृत्वमा विद्युतमा सुधार हुन थालेको बताउँदै अहिले गुणस्तरीय बनाउनेतर्फ लागेको बताए ।

उर्जा सचिव दिनेश घिमिरेलेले १३२ केभीको मात्रै प्रसारण लाइन हुँदा पूर्वको विद्युत पश्चिम र पश्चिमको विद्युत पूर्वमा लैजान अपुग भएकाले २२० केभीको प्रसारण लाइन निर्माण गरिएको बताए ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा विश्व बैंक, युरोपियन युनियनले सहयोग गरेको बताए । उनले प्रसारण लाइन विस्तार र सबस्टेसन निर्माणले अब गुणस्तरीय विद्युत वितरण गर्न सकिने बताए ।