काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले नेपाल धितोपत्र बोर्ड समक्ष एक ज्ञापन पत्र पेश गरेको छ । ब्रोकर एशोसिएसन नेपाललले बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा बोर्ड समक्ष ज्ञापन पत्र पेश गरेको हाे ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले उक्त ज्ञापन पत्र पेश गरेका हुन् ।
ज्ञापन पत्रमा नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिबाट पास भएर नेपाल धितोपत्र बोर्ड समक्ष पेश भएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा रहेका केही विषयहरुले वर्तमान अवस्थामा पूँजी बजारलाई थप नकारात्मक बनाउने तथा बजारको विकास र विस्तारमा बन्देज लगाउने खालका भएको स्मरण गराइएको छ । त्यस्ता विषयहरुलाई संशोधन गरेर मात्रै उक्त विनियमावली पास गर्न माग गरिएको छ ।
धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरुलाई हालको ३ दिन निलम्बन गर्ने व्यवस्थालाई संशोधन गरी ३ दिनबाट १५ दिन बनाउने व्यवस्था रहेको छ । १५ दिनसम्म निलम्बनमा पर्दा त्यसमा आबद्ध लगानीकर्ताहरुलाई यसबाट ठूलो मर्का पर्ने भन्दै उक्त व्यवस्थालाई खारेज गरी कम्पनी वा कम्पनीका पदाधिकारीहरुलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न धितोपत्र ब्रोकर एशोसिएसन नेपाललकाे माग छ ।
यसैगरी सदस्य दलाल कम्पनीमा आबद्धहरुले आफ्नो तथा परिवारको नाउँमा सेयर कारोबार गर्नुपूर्व नेप्सेबाट पूर्वस्वीकृति लिएर मात्रै कारोबार गर्ने व्यवस्था विनियमको अनुसूची ९ मा आचारसंहिता बुँदा १० र ११ बनाई लागू गर्न खोजिएको ज्ञापन पत्रमा उल्लेख छ ।
यसलाई पूर्ण रुपमा खारेजी गर्न तथा सदस्य दलाल कम्पनीका शेयरधनी, कर्मचारी तथा परिवारहरुलाई आफ्नै कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाएमा यसबाट नियामक निकायहरुलाई समेत नियमन तथा सुपरिवेक्षण कार्यमा सहयोग पुग्ने अपेक्षा एशोसिएनले गरेको छ ।
हाल लगानीकर्ताहरु क्लोज आउटको मारमा परी २० प्रतिशत जरिवाना भुक्तान गर्नुपर्ने बाध्यतामा रहेको हुँदा यसलाई व्यवस्थित गर्न तथा क्लोजआउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधि पछि न्यूनतम ३० मिनेटको अक्सन मार्केट सञ्चालन गर्न माग गरिएको छ ।
धितोपत्र बोर्डबाट लागू भएको २ वटा डिम्याट खाता सम्बन्धी निर्देशनलाई खारेजी गर्दै जोखिम व्यवस्थापनको अपरिहार्य औजारको रुपमा रहने डिम्याट खातालाई लगानीकर्ताहरुको आवश्यकता अनुसार खुला छोड्न माग गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले हाल सञ्चलानमा रहेको ब्रोकर कमिसनलाई अध्ययन गरिरहेको परिप्रेक्ष्यमा लगानीकर्ताहरुले ब्रोकरको माध्यमबाट विभिन्न नियामक निकायहरुलाई भुक्तान गरिरहेको कमिसनलाई ब्रोकरको कमिसनबाट अलग्गै राखेर ग्राहकहरुको बिलमै कुन निकायलाई के कति कमिसन वा शुल्क लागू गर्ने हो सो सम्बन्धी व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै लगानीकर्ताहरुले स्वदेश वा विदेशबाट डिम्याट खाता तथा कारोबार खाता खोल्ने क्रममा भिडियो केवाइसीबाट समेत खाता खोल्न पाउने व्यवस्था लागू गर्न आग्रह गरिएको छ ।