के तपाईं आफ्नो घर देखि टाढा बसेकै कारण मातृखानाबाट वञ्चित हुनुभएको छ ? बाल्यकालमा आमाको हातबाट खाएको खानाको यादले जीब्रो रसाउँछ भने अव धन्दा मान्नु पर्दैन । तपाईं काठमाडौं वरपर बस्नुहुन्छ भने एक पटक कटिया हाउस पुग्नुस ।
काठमाडौंको सिनामंगलमा खुलेको लेकाली किचन एन्ड कटिया हाउसको खानाको स्वादले तपाईंलाई तपाईंको गाउँसंग मात्र जोड्दैन, बाल्यकालमै फर्काइ दिन्छ । परम्परागत शैलीले पकाइएको अर्गानिक खाना मिठो नहुने त कुरै भएन । स्वादिलो खाना त्यसैमाथि आफन्त र साथीभाइको साथ । त्यो पनि कुनै एउटा क्षेत्रको मात्र नभई मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म अझ भनौ ओलाङचुङगोलादेखि लिपुलेकसम्म जुनसुकै ठाउँको परमपरागत खाना खाने इच्छा छ भने पनि कटिया हाउस जिन्दाबाद !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नपुग्दै तीनकुने बाट बायाँ मोडेर करिब २ सय मिटर अगाडि बायाँ पट्टी छ लेकाली किचेन एन्ड कटिया हाउस । लेकाली खाना तथा बेसी (तराइ)को कटिया, हिमालदेखि तराईसम्मको खाना एउटै छानामुनी पाइने भएकैले यसको नाम लेकाली किचेन एण्ड कटिया हाउस राखिएको हो ।
उपत्यका बाहिरबाट आएर काठमाडौंमा बसोबास गरिरहेकाहरुलाई लक्षित गरेर देशभरका विभिन्न परमपरागत खानाका स्वाद दिने योजनासँगै रेस्टुरेन्ट सुरु गरिएको रेस्टुरेन्टका अध्यक्ष तथा सह–सञ्चालक मधुसुदन ढकाल बताउँछन् ।
यहाँको मेनुमा जतिसक्दो धेरै प्रकारका र धेरै ठाउँका परम्परागत खाना अटाएको उनको भनाइ छ । यहाँ करिब तीन सय परिकार पाइने ढकाल बताउँछन् । जसमा रौतहटको कटिया, थकाली खाना, च्याङ्ग्राको सुकुटी, दाङको बँदेलको मासु, गँगटा, बगैडी, घोंगी, हाँस, बदिया, कालिज, बट्टाइको मासु, लुइँचे कुखुरा, खसीको परिकार, मार्सी भात, फापर, कोदो र मकैको ढिँडो लगायत थुप्रै परिकारहरू छन् ।
बदिया भनेको खसी बनाइएको भाले कुखुरा हो । यो एउटै कुखुरालाई ५ हजार रुपैयाँसम्म पर्छ । जुन लुम्बिनी प्रदेशको दाङमा मात्रै पाइने दाबी गरिन्छ । लुइँचे कुखुरा भने झापाबाट ल्याइन्छ ।
रेस्टुरेन्टमा अधिकांश खानेकुरा मौसमअनुसार पाइन्छ । बगैडी भनेको तराइमा पाइने चरा हो । जुन विशेष गरी चिसो मौसममा, असोज अन्तिमदेखि माघसम्म पाइन्छ। तराईको घोंगी र हिमालको च्याङ्ग्राको मासु पनि सोही याममा पाइन्छ ।
विभिन्न मौसममा गरी झन्डै तीन सय स्थानीय परिकार व्यावसायिक रूपमै पस्किने हामी पहिलो हौँ,’ ढकालले भने, ’परिकार धेरै र फरक भएकैले ग्राहक फेर्कि फर्कि आउँछन् । फर्केर आएका ग्राहकको प्रतिक्रियाले थप मेहनेत गर्ने ऊर्जा दिन्छ ।’
उनका अनुसार कटिया हाउसको सबभन्दा रूचाइने परिकार कटिया, थकाली खाना र ढिँडो हो । कटिया विशेष गरी रौतहटतिर माटोको भाँडामा पकाइने खसीको मासु हो ।
कटिया पकाउन सुरुमा माटोको भाँडामा स्थानीय जातको प्याज, लसुनका पोटी, खुर्सानी र उनीहरू आफैँले बनाएको मसला हालिन्छ । त्यसमा तोरीको तेल र मासु राखिन्छ । त्यसलाई पानी नहालीकन छोपेर कोइलाको रापले पकाइन्छ । कटिया तयार हुन झन्डै एक घण्टा लाग्छ । एक भाँडो कटियालाई ७७५ रुपैयाँ पर्छ । जसले २ जनालाई फालाफाल खान पुग्छ । कटिया पकाउने माटोको भाँडा उनीहरूले भक्तपुरबाट ल्याउँछन् । कटिया खाना तथा खाजाको रुपमा खान सकिन्छ ।
यहाँ मार्सी, बुढासुब्बा, ब्राउन गरी चामल मात्रै ६ थरीका पाइन्छ। दाल, चामल, आलुलगायत खाद्य सामग्री जुटाउन बौद्धमा रहेको एक अर्गानिक पसलसँग सहकार्य गरिएको छ । त्यस्तै मासु व्यक्तिगत र चिनाजानका सम्बन्धबाट मगाउँछन् भने च्याङ्ग्राको सुकुटी त्यहीँ बनाउँछन् ।
लेकाली किचेन एन्ड कटिया हाउस मधुसुदन ढकालसहित राज अर्याल, केशवप्रसाद चौलागाईं, माधव भट्टराई र सीताराम अधिकारी मिलेर सञ्चालनमा ल्याएका हुन् । २०७६ वैशाख ५ गतेदेखि सञ्चालनमा आएको यो रेस्टुरेन्टको व्यवस्थापन ढकालले सम्हाल्छन् । हिसाब किताब अर्यालले हेर्छन् ।
स्थायी घर नुवाकोट भएका ढकाल करिब एक दशकदेखि रेस्टुरेन्ट व्यवसायमा आबद्ध छन् । उनी आफैँ खानाका पारखी हुन् । २०६१ सालमा एसएलसी दिएर प्लस–टु पढ्न काठमाडौं छिरेका ढकाल ०६४ सालबाट पढाइसँगै रेस्टुरेन्ट लाइनमा काम गर्न थालेका थिए । बिस्तारै उनले आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाए र २०६८ सालमा टेकुमा फास्ट फुड रेस्टुरेन्ट खोले । यो बीचमा उनको अति मिल्ने साथी रुपन्देहीका राज अर्याल सँग मिलेर आफैँ मिडिया पनि सञ्चालन गरे ।
करिब पाँच वर्ष मिडिया चलाउँदा राम्रै चलेको थियो । तर, उनको मनले भने पत्रकारिता भन्दा सुरूदेखि गर्दै आएको रेस्टुरेन्ट पेशामा नै अगाडि बढ्ने अठोट गर्यो । उनी पुनः रेस्टुरेन्ट तिरै फर्किँदा केही फरक अवधारणासहित आए र लेकाली किचेन एन्ड कटिया हाउस सञ्चालनमा ल्याए ।
‘पत्रकारिताको विद्यार्थी भएकाले मिडियामा प्रवेश गरेको थिएँ । सुरुमा फ्रिल्यान्सिङ गर्थेँ । पछि साथीसँग मिलेर आफ्नै मिडिया सुरु गरेँ,’ ढकाल भन्छन्, ’तर मिडिया मेरा लागि बनेको क्षेत्र जस्तो महसुस गरिंन । अनि रेस्टुरेन्ट व्यवसायमा नै फर्के । साथीसंगै मिलेर यो रेस्टुरेन्ट खोलेपछि ३–४ महिनामै राम्रो पिक अप पनि लियो ।’
रेस्टुरेन्ट खोलेको केही समयमै निकै राम्रो चल्यो । लगभग हरेक दिन जस्तो भीड नै हुन्थ्यो । तर कोरोना र आर्थिक मन्दिको लगातार झटारोका कारण केही समस्या भने भयो । अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा भएकाले उनीहरुलाई पनि व्यवसाय टिकाउन मुस्किल पनि परेछ । रेस्टुरेन्ट सुरु गरेको केही समयपछि लकडाउन भयो, खुलेपछी पुनः फस्टाएको व्यापारलाई आर्थिक मन्दिको प्रभावले धेरै फरक पारेको ढकाल बताउँछन् ।
तर यो बीचमा पनि ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको र ग्राहक बटुलेका कारण चल्न भने गाह्रो नभएको उनी बताउँछन् । ग्राहकको सकारात्मक प्रतिक्रियाले उनलाई थप हौसला दिएको छ । आगामी दिनमा हिमाल, पहाड र तराईका अझै धेरै विशेष खाना तथा खाजाका परिकार थपेर अघि बढ्ने उनीहरुको योजना छ । अबको २ वर्षमा रेस्टुरेन्टको नयाँ शाखा खोलेर सञ्चालन गर्ने पनि उनीहरुले बताए ।
‘हाम्रोमा दिनमा डेढ सय हाराहारी ग्राहक आउँछन् । विशेष दिनहरुमा त दुई–तीन घण्टा कुरेर खाना खानेहरू पनि छन् । त्यस्तै कुनै दिन विशेष अवसरमा आठ सय जनासम्मलाई खाना खुवाउन सक्छौँ।’ ढकालले भने ।
लेकाली किचेन एन्ड कटिया हाउसमा सस्तोमा एक सय ५० देखि एक हजार रूपैयाँसम्मका परिकार छन् । यहाँको खानामा बाहिरी मसला नहालिने उनीहरुको दाबी छ । यहाँ आफैँले १७–१८ किसिमका मसला प्रयोग गरी गरम मसला उत्पादन गर्छन् ।
‘हामीले आफैँले १६ थरी मसला मिसाएर गरम मसला बनाएका छौं । यसले स्थानीय स्वाद दिन मद्दत पुगेको छ,’ उनले भने । सुरुमा करिब ८५ लाख रूपैयाँ लगानीमा खुलेको कटिया हाउसमा तीन जना प्रमुख सेफ सहित १७ जना स्टाफ छन् । कटिया बनाउन रौतहटमा काम गरेका सेफ, थकाली खाना बनाउन मुस्ताङको कागबेनीमा काम गरेका सेफ र तास तथा सेकुवा बनाउन चितवनको रेस्टुरेन्टमा काम गरेका अनुभवी सेफ राखिएको छ ।
किन भिन्न भिन्न ठाउँको सेफ राख्नुभएको हो भन्ने प्रश्नमा उनले भने-‘स्थानीय ठाउँकै मान्छेले बनाउँदा स्वाद पनि स्थानीय आउँछ ।’
‘यहाँको जस्तो रेस्टुरेन्ट खोल्न निकै गाह्रो छ। हामीले आफ्नो सम्बन्धका आधारमा खाद्य सामग्री मगाइरहेका छौं । यही हिसाबमा अरूलाई काम गर्न गाह्रै पर्छ,’ उनले भने ।