काठमाडौं । मिटरव्याजीहरुले निरन्तर पीडा दिइरहँदा पनि सरकारले न्याय दिन नसकेको मिटरव्याज पीडितहरुले गुनासो गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले साे कुरा बताएका हुन् ।

झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका हुन् ।

रमेश शर्मा र सौरभ शर्मा बाबुछोरा हुन् । सौरभका साथी रहेका चन्दन जिन्दालले व्यवसाय गर्नका लागि ऋण खोजेपछि उनले मिटरव्याजी लिला, मुलुकसिंह र सोभाको समूहलाई भेटाइ दिए । जिन्दालले उनीहरुबाट २२ लाख रुपैयाँ लिएको सौरभको दाबी छ ।

ऋण लिएका जिन्दाल कोभिड महामारीको समयमा व्यवसाय छोडेर भागेपछि शर्माको परिवारलाई उनीहरुले निरन्तर धाकधम्की दिएर एक करोड ६० लाखको सम्पत्ति कब्जा गरेको सौरभले बताए ।

उनीहरुले साक्षी बसेको आधारमा सौरभलाई जेलमा पुर्याएपछि रमेशले ९० लाखको घर र बाँकी नगद गरेर एक करोड ६० लाख उनीहरुलाई दिएर छोरा छुटाएको बताए । उनीहरुलाई एक करोड ६० लाख दिने क्रममा ऋण लिएका चन्दन जिन्दाललाई भेटाइदिएपछि उक्त सम्पत्ति फिर्ता गर्ने सहमति कागज भएको रमेशले बताए ।

उनका अनुसार वकिल राखेर पैसा तिर्ने बेला उक्त सहमति कागज गराएका थिए । पछि चन्दनलाई भेटाइदिए पनि उसलाई नचिन्ने भन्दै मिटरव्याजीहरु पन्छिएकाे र आफ्नो सम्पत्ति कब्जा गरेको रमेशले बताए ।

सौरभका अनुसार चन्दनलाई पनि उनीहरुले मुद्दा हालेर जेलमा पुर्याएका छन् । चन्दनले २२ लाखमात्रै लिएको भएपनि उनलाई जबरजस्ती साढे चार करोडको कागज गराइएको छ ।

त्यस्तै पीडत हर्क लिम्बुले लिला, मुलुकसिंह र सोभाले खाली चेकमा सही गराएर आफूलाई फसाएको बताए । घरायसी कामकाजका लागि आफूले उनीहरुबाट ८३ लाख ऋण लिएको हर्कले बताए । ८३ लाख ऋण लिएकोमा पटक–पटक गरेर ६५ लाख फिर्ता गरेपनि उनीहरुले धाकधम्की दिएर पाँच करोडको कागज गराएको उनले आरोप लगाए ।