काठमाडौं । नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा गरिएको संशोधनले बजार चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन सकारात्मक भएको बताएका छन् ।
‘बैंक वित्तीय संस्थाले विभिन्न मापदण्डको आधारमा ४०/५० प्रतिशत सम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । उत्पादनमुलक उद्योगलाई सहज व्यवस्था गरिएको छ,’केसीले भने,’भेरियन्स सम्बन्धी नीतिमा संशोधन गरिएको छ । निर्माण व्यवसायीलाई सुविधा दिइएको छ । यी व्यवस्थाले उत्पादनमुलक उद्योगलाई सहयोग गर्छ भन्ने अपेक्षा छ ।’ अध्यक्ष केसीले भने ।
राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नु पर्ने सर्कुलरले भने खराब कर्जा बढ्ने केसीले बताए । ‘सम्पति वर्गीकरण गर्नु पर्ने नीतिले कहाँ कहाँ प्रभाव पार्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं,’अध्यक्ष केसीले भने ।
साथै उनले रेमिट्यान्समा भएको वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्र बलियो बन्दै गएको बताए ।
वित्तीय संस्थाको सीडी रेसियो ८२/८३ प्रतिशत भए पनि लगानी योग्य पुँजीको अभाव भएको केसीको भनाइ छ ।
स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिँ डिपोजिट नदिँदा समस्या भएको केसीको भनाई छ । बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या आएको अध्यक्ष केसीले बताए ।
कर्जा लगानी बढ्न नसक्दा खराब कर्जा बढ्ने सम्भावना केसीले बताए । ‘नयाँ परियोजनाका लागि माग पनि छैन । ब्याजदर घटाउने सन्देश दिन पनि केही समय स्थानीय तहको निक्षेप गणना गर्न दिनु पर्छ ‘ । केसीले भने ।