काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको हो ।
पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे । योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।
चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।
कोभिड महामारी र रुस–युक्रेन युद्धकाकारण विश्वभर कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । साथै ‘ग्लोबल वार्मिङ’का कारण आइरहेको प्राकृतिक परिवर्तन रोक्न समेत विश्वभरका देश विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने दबाबमा छन् । यो दबाब नेपाललाई समेत पर्छ । स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने स्थिति छ । सोहीकारण, प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाएको हो । यस्तै, निजी क्षेत्रले समेत चार्जिङ स्टेसन बनाइरहेको छ ।
आफैंले चार्जिङ स्टेशन बनाउन जग्गा खरिद लगायतको झन्झट आएपछि यतिबेला प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ । चार्जिङ स्टेशन बनाउन चाहने निजी क्षेत्रलाई बिजुलीको प्रबन्ध प्राधिकरणले नै गर्छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।