काठमाडौं । हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि सञ्चालनमा आएको हाे ।
बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको हाे । साथै यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ ।
पोखराको पामेमा सञ्चालित यसमा एकपटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क तोकिएको छ ।
करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।