काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको जनाएका छन् । शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउका हुन् ।
उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेकाले सहमति अनुसार नै आयोग गठन प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’
साथै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । उनले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।
त्यस्तै प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताए । उनले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने बिषय प्रतिनिधि सभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताए ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् ।