काठमाडौं । आज दुई बैंककाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हाे ।
यी दुवै बैंकले मंगलबार भोलि (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् ।
सोमबारसम्म कायम सेयरधनीले मात्र दुवै बैंकको लाभांश हात पार्न सक्नेछन् । एनआइसी एशिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले ३०.५२ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।
बैंकले गत वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
त्यस्तै, एभरेष्ट बैंकले सभा प्रयोजनका लागि असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ ।
यस बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १० प्रतिशतबोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।