काठमाडौं । चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका र नभएकाहरुले पाउने सुविधामा फरक फरक रहेकाे छ ।
श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्ने छैन । तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजन मात्र भन्सारी नतिरी ल्याउन पाउनेछन् ।
भन्सार कार्यालयले सूचना निकाल्दै ५ हजारभन्दा बढी अमेरिकी डलर बोकेर आउने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्ने समेत जानकारी दिएको छ । यसरी स्वघोषणा गर्दा कुनै शुल्क लाग्ने छैन ।
कार्यालयले व्यक्तिगत प्रयोजनका लागि कानुनने छुट दिएका वा राजश्व तिरेर ल्याउन सकिने बाहेकका सामान नल्याउन समेत अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्किने यात्रुमा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार लाग्दैन ।
थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था पनि छ ।
तर गहनाको आकार मात्र दिएर बनाएको बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता लिइने छैन ।
त्यस्तै, मोबाइलको हकमा विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रुाले थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने छन् । ‘थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्नेछ सूचनामा भनिएको छ ।’
विमानस्थल भन्सार कार्यालयले अरुको सामान नल्याउन सचेत गराएको छ ।
‘यात्रुहरुले मापदडभन्न्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तु जफत हुने तथा सो बराबर मुल्य धरौटी जरिवाना तथा कैद सजाय पाउने गरेका छन्, कार्यालयले भनेको छ ।’