काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नियामक निकाय चलाउने कसले हो भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद ढकालले नियामक निकाय चलाउने कसले हो, अर्थ मन्त्रालयले कि राष्ट्र बैंकले भन्दै प्रश्न उठाएका हुन् ?

सांसद ढकालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको कुरा पनि सुन्न छोडेको बताए ।

सांसद ढकालले राष्ट्र बैंकका गभर्नर लगायतका नियामक निकायहरूलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने पनि बताए । राष्ट्र बैंकको गलत नीतिका कारण पुँजीबजारका लगानीकर्ताले महिनामै खर्बौं रकम गुमाइरहेको उनले बताए ।

उनले भने, ‘अर्थमन्त्रीले भन्नुहुन्छ, मैले भन्या गभर्नरले टेर्नुहुन्न । कसले चलाउने हो गभर्नर ? गज्जब छ यो ! कसले हो नियामक निकाय चलाउने, अर्थ मन्त्रालयले हो कि राष्ट्र बैंकले हो ? को हो ठूलो ?’

मुलुक आर्थिक मन्दीमा गइरहेको तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले त्यसतर्फ ध्यान नदिएको उनले बताए । उनले भने, ‘देशको आर्थिक अवस्थाको बारेमा सदनमा विभिन्न समयमा सांसदहरूले आवाज उठाइरहेका छन् । देश आर्थिक मन्दीमा जाँदैछ, धसिँदैछ । आर्थिक मन्दिमा जाँदैछ भनेर सुझाव अर्थ मन्त्रालयमा दिँदा सुनुवाइ हुने गरेको छैन । नियामक निकायहरूले सुन्ने गरेका छैनन् ।’

त्यस्तै, उनले लगानीयोग्य रकम प्रशस्त हुँदाहुँदै पनि लगानी हुन नसकेकाे बताए । उनले भने, ‘लगानी योग्य रकम प्रशस्त छ । लगानीयोग्य रकम प्रशस्त हुँदाहुँदै लगानी हुन सकेको छैन । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकको गलत नीतिले लगानी हुन सकेको छैन ।’

धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका अर्थतन्त्रका नियामक निकायमा प्रदूषित राजनीतिबाट नियुक्ति लिएकाहरूले अर्थतन्त्र कमजोर पारिरहेको ढकालको भनाइ थियो । ती निकायमा नियुक्ति लिनेहरूले जसले नियुक्त गरेको हो उनीहरूकै पक्षमा निर्णय लिएर मुलुकको अर्थतन्त्रमा आँच पुर्‍याइरहेको भन्दै उनले सरकारसँग माग गरे ।

त्यस्तै, सांसद ढकालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारमा लगाएको १२ करोडको ‘क्याप’को प्रसंग उठाएको तर गभर्नर महाप्रसाद अधिकारीले लगाएको कुरा उल्लेख नगरेको बताए । उनले भने, ‘केपी ओलीले १२ करोड भन्नुभयो । सेयर बजारको १२ करोडको क्याप कसले लगाएको ? गभर्नरले लगाएको हो, त्यो हटाउनुस् भनेर भन्न को लाग्या छैन ? अहिले पूर्व अर्थमन्त्रीहरू लाइन लागेर यो मुद्दा उठाइरहनुभएको छ ।’