काठमाडौं । आर्थिक मन्दी तथा अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैङ्क तथा वित्तीय कम्पनीबाट ऋण लिनेहरु हरेक दिन सैयौँ बढीको संख्यामा कालोसूचीमा परिरहेका छन् ।

पछिल्लो समय कालोसूचीमा पर्नेको सङ्ख्या डरलाग्दो रुपले बढिरहेको हो । कोरोना महामारीले गर्दा थलिएको अर्थतन्त्र अझै पनि उठ्न सकेको छैन । व्यापार व्यवसायमा मन्दी छाएको छ । कतिपय व्यवसायीहरू व्यवसाय छाड्न बाध्य भएका छन् ।

पछिल्लो समय सबै खाले व्यावसायहरु मन्द गतिमा चलिरहेका छन् । एकातिर महँगी बढिरहेको छ अर्कातिर व्यवसाय सुस्त गतिमा चल्दा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने व्यवसायीहरू चपेटामा परेका छन् । एकातिरको ऋण, अर्कोतिर व्यवसाय ठप्प । त्यसो हुँदा उनीहरु ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका छन् । जसको कारण कालोसूचीमा पर्नेको सङ्ख्या दिनानुदिन दोब्बर–तेब्बरले बढीरहेको छ ।

गएको साउनको अवस्था हेर्ने हो भने दैनिक रुपमा २ सयको हाराहारीमा कालो सुचीमा परेको कर्जा सुचना केन्द्रको तथ्याङ्क छ । अहिले पनि दैनिक रुपमा सय देखी डेढ सयको हाराहारीमा कालोसूचीमा पर्ने गरेका छन् । कालोसुचिमा पर्नेको सङ्ख्या केही मात्रामा कम भएको केन्द्रका प्रवक्ता विजय कुवंरले बताए ।

पछिल्लो समय आर्थिक स्थिति डामाडोल बन्दै गएपछि राम्रो नियतले ऋण लिएर किस्ता तिरिरहेकाले सम्म किस्ता तिर्न नसकेर, सानादेखि ठुला व्यवसायीहरु समेत कालोसूचीमा पर्ने गरेको कुवंरको भनाई छ । केन्द्रमा २ हजार ५ सय सम्मको चेक समेत बाउन्स गरिदिन निवेदन आउने गरेको कुवंर बताउँछन् ।

चालु अर्थिक वर्षमा मात्रै ११ हजार १३ जना कालोसूचीमा परेको कर्जा सुचना केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार चालु आर्थिक वर्षको साउनमा ४ हजार ४ सय ६० चेक बाउन्स र ७ सय ९३ लोन डिफल्टबाट गरी कुल ५ हजार दुई सय ५३, भदौमा ३ हजार ३ सय २१ चेक बाउन्स र ५ सय ७० लोन डिफल्टबाट गरी कुल ३ हजार ८ सय ९१ जना, र असोज महिनाको १५ गते सम्ममा १ हजार ८ सय ६९ जना कालोसूचीमा परेका हुन् ।

यी मध्ये, सुरु देखि गत आर्थिक वर्ष २०७९–८० को अन्तिम सम्ममा ५८ हजार ६ सय ४६ जना कालो सुचीमा परेका थिए । गत आर्थिक वर्ष २०७९–८० मा मात्रै ३४ हजार ८१ जना ऋणी कालोसूचीमा परेको केन्द्रका प्रवक्ता कुँवरले बताएका छन् । यो तथ्याङ्कले कालोसूचीमा पर्नेको सङ्ख्या डरलाग्दो रुपमा बढेको देखाउँछ । यो सङ्ख्या हेर्ने हो भने हालसम्म कालोसूचीमा पर्नेको आधाभन्दा पनि बढी सङ्ख्या एकै वर्षमा अर्थात गत आर्थिक वर्षमा कालोसूचीमा परेका छन् । यसरी नै चल्दै गए चालु आर्थिक वर्षमा कालोसूचीमा पर्नेको सङ्ख्या ६० हजार नाघ्न सक्ने कुवंरको भनाई छ । गत आर्थिक वर्षमा कालो सूचिमा पर्नेहरु मध्ये ७० प्रतिशत चेक बाउन्स र ३० प्रतिशत लोन तिर्न नसकेका छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा १५ हजार ९९५ जना कालोसूचीमा परेका थिए । आर्थिक वर्ष २०७७–७८ मा ६ हजार ५१४ जना, २०७६–७७ मा ४ हजार ६२० जना र २०७५–७६ मा २ हजार ८३७ जना कालोसूचीमा परेका छन् । केन्द्रको विगत ५ वर्षको तथ्याङ्कले हेर्दा कालोसूचीमा पर्नेको सङ्ख्या गुणात्मक हिसाबले हरेक वर्ष दोब्बरले बढ्दै गएको छ ।

कुवंरका अनुसार, गत आर्थिक वर्ष ०७९–८० मा चेक बाउन्सको ३८ अर्व र लोनको ५५ अर्व गरी ९३ अर्व बरावरको रकम सहित कालोसूचीमा परेका छन् । आर्थिक वर्ष ०७८–७९ मा १७ अर्व बरावरका चेक बाउन्स भएर तथा १० अर्व बराबरको ऋण तिर्न नसकेर कालो सूचिमा परेका थिए । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६६ अर्व बढी रकम बराबरको रकम तिर्न नसकेर तथा चोक बाउन्समा परी कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रमा २० वटा वाणिज्य बैङ्क, ८ वटा राष्ट्रिय स्तरका विकास बैङ्क, ९ वटा क्षेत्रीय बैङ्क, १८ वटा फाइनान्स कम्पनी, ५७ वटा माइक्रोफाइनान्स, १० वटा हायर पर्चेज कम्पनी, ५ वटा सहकारी, पूर्वाधार बैङ्क र जलविद्युत लगानी तथा विकास कम्पनी आवद्ध छन् ।

बैंकको कालोसूचीमा किन र कसरी परिन्छ र परे पछि के– के हुन्छ ?