काठमाडौं। यस वर्ष दशैंको मुखैमा आइपुग्दा पनि अग्रिम टिकट बुकिङ खुलेको छैन । सरकार र यातायात व्यवसायी बिचको भाडा दर समायोजनको विषयमा सहमति जुट्न नसक्दा दसैँका लागि हुने सार्वजनिक यातायातको अग्रिम टिकट अग्रिम टिकट बुकिङ खुला अन्योलमा परेको छ ।

आउँदै गरेको विजयादशमी, तिहार र छठ पर्व मान्न काठमाडौं उपत्यकाबाट ठुलो संख्यामा यात्रुहरू बाहिरिन्छन् । अझै घटस्थापना पछी त काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढ्छ । तर, घटस्थापना नजिकिँदै गर्दा पनि अग्रिम टिकट बुकिङ भने खुल्न सकेको छैन । यातायात व्यवसायी र सरकारले आ–आफ्ना अडान लिएर बसिरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्व तयारीको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भएता पनि यातायात व्यवसायीहरूले भाडा वृद्धिको लबिङ गरिरहेको बताउँदै मन्त्री ज्वालाले मुख्य चाडपर्वको मुखमा भाडा बढाउन नसकिने बताएका हुन् ।

दसैँ तिहार छठ जस्ता मुख्य चाडपर्वमा गाउँ जाने, घर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर भएर लागेको बताउँदै उनले सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैँ अघि नै मुख्य मुख्य राजमार्गहरू मर्मत कार्य अघि बढाएको बताएका छन् ।

मन्त्री ज्वालाले दसैँ तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीहरूसँग नियमित बैठक बसिरहेको बताएका हुन् ।

यातायात व्यवसायीहरूले भने भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेपनि चाडपर्वको मुखमा भाडा वृद्धि गरेर सर्वसाधारण उपभोक्तालाई मारमा नपार्ने उनले बताएका छन् ।

उनका अनुसार दसैँ तिहारकै लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीसँग विभागले समन्वय गरिरहेको छ ।

तर, यता यातायात व्यवसायीले दशैको विषयमा सरकारसंग औपचारिक रुपमा केही छलफल नै नभएको बताएका छन् ।

चैतमै स्वतः बढाइसक्नुपर्ने भन्दै लामो दुरीका सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने माग राख्दै आएको छ । सरकारले व्यवसायीलाई सधैँ मारमा पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । सरकारले जनता र व्यवसायी बिच भ्रम सृजना गर्न खोजेको आरोप लगाए ।

जनतासंग भाडा घटाउँदैनौँ भन्ने ,हामीसंग त त्यस्तो केही कुरा भएको छैन,सिटौलाले भने,‘ भौतिक कार्यहरु केही नगर्ने, खराब बाटोका कारण ३ घण्टामा पुगिने बाटोमा अहिले ६र७ घण्टा लाग्छ । नारायणगढ–बुटवल , मुग्लिन पोखरा लगायत अन्य ग्रामीण स्थानको बाटो राम्रो छैन। यात्रुलाई गन्तव्यमा पु¥याउन धौ–धौ छ , हाम्रो समस्या कस्ले हेर्ने ? काम भने केही नगर्ने, खाली व्यावसायीमाथी प्रहार मात्रै गरिरहने?

यातायात व्यवसायीलाई नेगेटिभ बनाएर सरकार आफु राम्रो बन्न खोजेको उनको आरोप छ ।सरकारी निकायले व्यवसायीका कुरा पटक पटक बेवास्ता गरेको उनको आरोप छ । अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवसायीले दुइटा माग अघि सारेका छन् ।

घटस्थापनाअघि राष्ट्रिय राजमार्गहरू मर्मत–सम्भार भइसक्नुपर्ने , त्यसै गरी स्तरोन्नतिमा गएका नागढुंगा–नौबिसे–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर, ढल्के बर–कोशी ब्यारेजलगायतका राष्ट्रिय राजमार्गमा रहेका खाल्डा खुल्डी, तथा अन्य सडकहरूमा पनि पहिरो गएको तथा खाल्डाखुल्डीका कारण तीन घण्टाको बाटोमा नौ घण्टासम्म यात्रा गर्नुपर्ने भएकाले टिकट बुकिङको समय तालिकाअनुसार समयमै सेवा दिन समस्या भएको व्यवसायीको भनाइ छ ।