काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयरधितो कर्जाको प्रवाह बढाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ को अगस्ट अर्थात, गत साउनको मध्येसम्म ७६ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । जुलाईमा ७६ अर्ब ३० करोड ८३ लाख रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार २५ देखि ५० लाख रुपैयाँसम्म कर्जा लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरेको छ ।
त्यसैले पनि ५० लाखसम्म कर्जा लिनेको संख्या बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले १४ अर्ब ८ करोड रुपैयाँ २५ देखि ५० लाखसम्म कर्जा लिनेहरुलाई प्रवाह गरेका छन् । त्यस्तै, १ करोड भन्दा धेरै कर्जा लिनेहरुलाई ४४ अर्ब ३० करोड रुपैयाँ कर्जा उपलब्ध गराइएको छ ।
राष्ट्र बैंकले निर्देशन जारी गर्नु अगाडि नै सेयर कर्जा प्रवाह बढेको हो । अब पहिलाको भन्दा केही खुकुलो नीति आएको हुनाले यो रकम अझै बढ्ने जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशिका जारी गर्दै १२ करोडको सेयरधितो कर्जाको सीमालाई परिमार्जन गरेको हो । बैंकले १२ करोडको सीमालाई परिमार्जन गरेर व्यक्तिगत तर्फ १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो । यस्तो व्यवस्थाले बजारमा तरलता झनै बढ्ने देखिन्छ ।
व्यक्तिलाई र संस्थागत लगानीकर्तालाई पहिला १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था थियो । अहिले संस्थापकलाई भने बढाइएको छ । यो केन्द्रीय बैंकले राम्रो सुरुवात गरेको केही जानकारहरु बताउँछन् । यसैगरी विस्तारै बैंकले परिमार्जन गर्दै जाने उनीहरुको भनाई छ ।
यस व्यवस्थाले लगानीकर्ताको सबै माग सम्बोधन नभएपनि थप हानी भने केही नगरेको जानकारहरु बताउँछन् । यसले बजारमा तरलता बढाउने कुरामा उनीहरु विश्वस्थ छन् । त्यसो त, कतिपय बैंकहरुले सेयरधितो कर्जाका लागि विज्ञापन नै जारी गरेका छन् । यसअघि नेपाल बैंक, एनआइसी एसिया लगायतका बैंकहरुले सेयरधितो कर्जाका लागि विज्ञापन समेत गरेका थिए ।
यता, बजारमा संस्थागत लगानीकर्ताहरुको उपस्थिति पनि बढ्दै गएको छ । म्युचुअल फण्डहरुको संख्या पनि ४३ पुगेको छ । त्यसैले, आगामी दिन बजारले राम्रो लय समात्नेमा लगानीकर्ताहरुको विश्वास छ । त्यसका साथै, चालु आर्थिक वर्ष सुरु भएको हाल ३ महिना मात्र भएको छ । बैंकहरुले कर्जाको सीमा पनि बढाउँदै छन् । घर जग्गाको कारोबारमा पनि राष्ट्र बैंकले केही लचिलो नीति लिएको छ । घरजग्गा कारोबार बढ्यो भने सेयर पनि बढ्ने गरेको देखिदै आएको छ ।
त्यसका साथै, कम्पनीहरुले लाभांश घोषणा गर्न पनि सुरु गरेका छन् । त्यसैले हातमा आएको प्रतिफललाई छाड्नु उचित देखिदैन । माछापुच्छ्रे बैंकले साधारण सभा सम्पन्न पनि गरिसकेको छ । एभरेष्ट र एनआइसी एशियाले सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् । अरु कम्पनीहरुले पनि प्रतिफल घोषणा गर्ने आन्तरिक तयारी थालेका छन् ।
यता, बैंकमा तरलता अत्याधिक बढेको छ । सीडी रेसियो पनि कम हुँदै गएको छ । त्यसमाथि, अबको १० दिनपछि कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्न सुरु गर्नेछन् । कोभिडको असर र अर्थतन्त्रमा देखिएको सुधारका कारण रिपोर्ट राम्रो आउने संम्भावना धेरै रहेको छ ।
नेपाल राष्ट्र बैंकले सेयर बजार ३२ सयको विन्दुमा पुगेको समय बैंक तथा वित्तीय संस्थालाई सेयरधितो कर्जाको सीमा १२ करोड कायम गर्न निर्देशन दिएको थियो । त्यसरी बैंकले निर्देशन दिएपछि अरबौं रुपैयाँको सेयरधितो कर्जा लिएका लगानीकर्ताहरुलाई फोर्सफुल्ली सेयर सेटलमेन्ट गर्न लगाइयो । जसले गर्दा बजारमा बिक्री चाप बढ्न पुग्यो र बजार ३२ सयबाट निरन्तर जसो घटेर १८ सय विन्दुसम्म झर्यो । अहिले त्यस्ता कर्जा सबै सेटल भइसकेका छन् । त्यसैले अब बजार झनै तल झर्ने आधार धेरै देखिदैन ।