काठमाडाैं । घरजग्गा व्यवसायीहरुको छाता संगठन नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गाकाे कित्ताकाट प्रक्रिया सहज गरिदिन आग्रह गरेको छ । महासंघले घरजग्गा कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न सरकार र नेपाल राष्ट्र बैंकलाई रणनीतिक कदम चाल्न आग्रह गरेको हाे ।

आइतबार एक विज्ञप्ति जारी गर्दै दुवै निकायलाई घरजग्गा क्षेत्रलाई सुदृढ गर्दै आर्थिक वृद्धि, आवास विकास र पुँजी परिचालनका लागि अवसर सिर्जना गर्नका लागि विभिन्न सुझाव दिँदै यस्तो माग गरेको हो । महासंघले दुवै निकाय ४–४ वटा महत्वपूर्ण कदम चाल्न सुझाव दिएको छ ।

भूमि बजार प्रणाली ऐन जारी गर्ने, आवास र भूमि एकीकरण परियोजनाहरु निजी क्षेत्रलाई सुम्पिने, जग्गाको कित्ताकाट प्रक्रियालाई सहजीकरण गर्ने र हकबन्दी छुट दिने कदम चाल्न महासंघले सरकारलाई सुझाव दिएको छ ।

यसैगरी राष्ट्र बैंकले ब्याजदरमा कटौती गर्ने, कर्जा पुनर्संरचना गर्ने, धितोको मूल्य र कर्जाको अनुपात (लोन टु भ्यालु रेसियो) वृद्धि गर्ने र अवासा कर्जालाई सहजीकरण गर्नेजस्ता कदम चाल्नुपर्ने महासंघको सुझाव छ ।

महासंघका अध्यक्ष भेषराज लोहनीले रियल स्टेट उद्योग नेपालको आर्थिक वृद्धिका लागि उत्प्रेरक बन्ने सम्भावना रहेको बताए । यी सुझावहरुको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि महासंघ सरकार र राष्ट्र बैंकलगायतका सम्बन्धित सरोकारावालाहरुसँग हातेमालो गरी कार्य गर्न प्रतिबद्ध रहेको पनि अध्यक्ष लोहनीले बताए ।