काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई अभिकर्ताहरुलाई कर्जा चुक्ता गर्न आउन १५ दिने अल्टिमेटम दिएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट उपभोग गरेको कर्जाको भुक्तान गर्न आउन भनेको हो ।

कम्पनीसँग गरेको सम्झौता तथा लिखतबमोजिम समय–समयमा तिर्नुपर्ने बुझाउनुपर्ने साँवा, ब्याज तथा अन्य दस्तुरलगायत नतिरी नबुझाई केही अभिकर्ताहरुले कम्पनीसँग भएको कर्जासम्बन्धी सम्झौताहरु उल्लंघन गरेको कम्पनीले जनाएको छ ।

त्यस्ता सबै अभिकर्तालाई कर्जालगायत कम्पनीको सम्पूर्ण लेना रकम चुक्ता भुक्तानी गर्न पटक–पटक लिखित तथा मौखिक तरताकेता गर्दासमेत कर्जा भुक्तान गर्नतर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको कम्पनीले जनाएको छ ।

१५ दिन भित्र कम्पनीमा सम्पर्क राखी आफूले लिएको कर्जाको सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न कम्पनीले भनेको छ ।

तोकिएको अवधिमा कर्जा भुक्तान नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरी लेना रकम असुलउपर गरिनुका साथै कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम समावेश गर्न सकिने र फोटोसहितको तीनपुस्ते विवरण पत्रपत्रिकामा प्रकाश गरिने कम्पनीले चेतावनी दिएको छ ।