झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता

काठमाडौं । कोभिड महामारीले थला परेको व्यापारिक क्षेत्र दरबारमार्ग सामान्य अवस्थामा पनि पुरानो लयमा फर्किन सकेको छैन । दशैंको रौनकता बढिसक्दा पनि यस वर्ष व्यापारको अवस्था भने सुस्त छ । महामारी कम भएपछि व्यापार व्यवसाय लयमा फर्किने व्यवसायीहरुको आशा विपरित देशकै अर्थतन्त्रमा मन्दीका कारण थला परेको दरबारमार्गको ब्रान्डेड बजार तंग्रिन पाएको छैन् । केही पसलमा व्यापारमा वृद्धि हुन थाले पनि अधिकांस पसलमा व्यापार नै नभएको व्यावसायीहरुको गुनासो छ ।

कोभिडपछि दरबारमार्ग त खुल्यो, तर व्यापारमा चमक नै आएन । अहिले अवस्थामा सामान्य भइसक्दा पनि दरबारमार्ग सुनसान देखिन्छ । पसल खुलेका छन्, तर ग्राहक भेटिँदैनन् । पसल त सुनसान देखिन्छन् नै बाहिर बाटोमा पनि मानिसहरुको चहलपहल छैन ।

पछिल्लो समय काठमाडौं महानगरले दरबारमार्गबाट पार्किङ हटाएपछि अलिअलि भइरहेको व्यापार पनि चौपट भएको व्यवसायीको गुनासो छ ।

अहिले अधिकांस पसलहरुले दशैंको डिस्काउन्ट अफर राखेका छन् , तर अफरले जति ग्राहकलाई तान्नुपर्ने हो त्यही तान्न सकेको छैन । आर्थिक मन्दीका कारण मानिसहरुले पहिलेका दशैंमा झैँ अहिले सपिङ गर्न छाडेको व्यावसायीहरु बताउँछन् ।

कहाँ, के र कति छ त दशैंको अफर?

दरबारमार्गमा रहेको नेपाली ब्रान्ड केटिएम सिटीमा दशैं अफर अन्तर्गत भारी छुटको व्यवस्था गरेको छ । केटिएम सिटिमा १ हजारको सपिङ गर्नेलाई क्याप फ्री, २ हजारको सामान किन्नेलाई टावेल फ्री, ३ हजारको सामान किन्नेलाई प्रोमो कोड र सो भन्दा बढीको सामान किन्नेलाई बस टिकटको अफर रहेको छ । बसको टिकट काठमाडौंबाट पोखरा, झापा र बुटवलको लागि रहेको छ ।

द स्निकर स्टोरमा नोबलुनको जुत्तामा ५० प्रतिशत र पेरिकार्डिनको लेदरको जुत्तामा २० प्रतिशत छुट दिएको छ । केल्मीको स्वरुममा ब्रुक्सको जुत्तामा २५ प्रतिशत छुट दिएको छ ।

त्यसै गरी, रिबक को जुत्ता र कपडामा पनि १० प्रतिशत छुट छ ।यसरी हरेक पसलमा दशैं अफर छुट छ तर सोचेजस्तो ग्राहक नआएको व्यापारीको गुनासो छ ।

उता, सामसुमको सो रुम मा मोबाइल,टिभी, फ्रिजर वासिङ मसिनमा सामान हेरिकन बढीमा ४१ प्रतिशत छुट छ। यहाँ दशैंको अफरसंगै केही ग्राहक बढेका छन् , तर अघिल्ला दशैंको तुलनामा भने निकै कम छ ।

लगेज र ब्यागमा पनि भारी छुट छ। ब्यागमा बढीमा ४० प्रतिशत सम्मको छुट छ भने लगेज हेरिकन १० हजार, २० हजार र ४० हजारको छुट दिइएको छ। यहाँ पनि दशैंको बम्पर छूट सँग केही मात्रामा ग्राहक बढेको छ।

दरबारमार्गमै रहेको सुनचाँदी पसलमा भने किन्ने ग्राहक नआई हेर्ने ग्राहक मात्रै आएको व्यावसायीले बताए । पहिले दशैं लागे सँगै सुनचाँदी किन्ने हरुको लहर नै लागे पनि यो वर्ष भने आर्थिक मन्दीका कारण सुन पसल सुनसान भएको उनको भनाई छ ।
दरबारमार्गका अन्य पसल तथा सोरुमहरुमा पनि भारी छुटको व्यवस्था गरिएको छ, कुनैमा १० प्रतिशत त कुनैमा ६० प्रतिशत , तर मान्छेको चहलपहल भने निकै कम देखिन्छ । दशैं मुखैमा आए पनि यस वर्ष दरबारमार्गलाई भने खासै नछोएको व्यावसायीहरुको चिन्ता छ ।