काठमाडौँ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको हो ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो ।
प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।
मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो ।
भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ ।