काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले बुधबार आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग गरेका छन् ।
नेप्से कर्मचारी संघले नेप्सेलाई प्राथमिक शेयर निष्कासन(आईपीओ) मार्फत् पुनसंरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएको हाे । संघमा आवद्ध कर्मचारीहरुले बुधबार अपरान्ह सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन १ घण्टासम्म नेप्सेको कार्यालयमा प्लेकार्डसहित दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन् ।
नेप्सेको पुनः संरचनाको लागि धर्ना कार्यक्रम गरेको संघका अध्यक्ष नबराज थापाले जानकारी दिए । पहिलो चरणमा प्लेकार्ड सहित सौहार्द वातावरणमा एक घण्टा दबावमुलक कार्यक्रम गरेको अध्यक्ष थापाले बताए ।
नेप्सेलाई पुन संरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबाबमूलक कार्यक्रम निरन्तर जारी रहने संघले जनाएकाे छ ।