बिजय फुयाँल
काठमाडौं । ४ वर्ष बैंक अफ द इयरबाट सम्मानित एनएमबि बैंकले सस्टेनेवल बैंकिङ अर्थात, दिगो बैंकिङको अवधारणा ल्याएको छ । यसले वातावरणीय, सामाजिक र सुशासनको प्रभावलाई ध्यानमा राख्दै बैंकिङ सञ्चालन र व्यवसायिक गतिविधिहरुको रणनीतिक योजना र कार्यान्वयन समावेश गर्दछ ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न बैंकहरुले प्रमुख भूमिका खेल्न उभिन्छन् । र यसैलाई अग्रसर गर्दै एनएमबि बैंक अघि बढेको छ ।बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई सहज बनाउदै देशभर २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।
यस बैंकले ग्राहकलाई भिडियो कलमार्फत नै खाता खोल्न सकिने व्यवस्था पनि गरेको छ । बैंकले एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाअन्तर्गत ग्राहकले भिडियो कल गरी ५ मिनेटमै खाता खोल्न सक्नेछन् ।
एनएमबिले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्न यो प्रविधि भित्र्याएको हो । यो सेवामार्फत देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यसका साथै, बैंकले युवा लक्षित ‘एनएमबि यु व्हा’ डिजी बचत खाता पनि सार्वजनिक गरेको छ । यो युवा वर्गका लागि गतिशील आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको बैंकले जनाएको छ । यो देश भित्र र बाहिर बसोबास गर्ने १८ देखि ४० वर्ष सम्मका नेपाली व्यक्तिहरुले खाता खोल्न सक्नेछन् ।
यो शून्य मौज्दातमा खोल्न सकिने बैंकले जनाएको छ । यसमा एनएमबी ओम्नी च्यानल बैंकिङ, एनएमबी डिलाइट डेबिट कार्ड र एनएमबी क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क पाइनेछ ।
पहिलो वर्षको लागि एनएमबि डलर कार्डमा टप अप १ वर्षको लागि निःशुल्क, डिम्याट र मेरो सेयर निः शुल्क, आस्वा सेवा निःशुल्क र मोबाइल बैंकिङ मार्फत गरेको कारोबारमा १२०० सम्मको वार्षिक क्यासब्याक, विभिन्न रिटेल आउटलेटहरुमा छुट लगायत नेपाल भरका अन्य बैंकका एटीएमबाट रकम निःशुल्क झिक्न सकिने सुविधा रहेको छ ।
सन् २००८ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त एनएमबी नेपाली वित्तीय बजारमा लामो समयदेखि सञ्चालमा आएको बैंक हो । यो बैंकिङ क्षेत्रको अग्रणी वाणिज्य बैंकहरुमध्ये एक हो ।
एनएमबि बैंकलाई ‘बैंक अफ दि इयर २०१७, २०१८ र २०२०’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड प्रदान गरिएको छ । सोही वर्ष नेपालको इतिहासमा पहिलो पटक यस बैंकलाई द बैंकर, फाइनान्सियल टाइम्स, लन्डन द्वारा ’बैंक अफ द इयर २०२१ एशिया’ को उपाधि प्रदान गरिएको बैंकले जनाएको छ ।
एनएमबि मुख्य उदेश्य ग्राहक र ग्राहकहरुलाई वित्तीय सुरक्षा प्राप्त गर्न मद्दत गर्नुका साथै, स्थानीय र अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग सक्रिय रुपमा काम गरेर दिगो सामाजिक आर्थिक विकासलाई सुदृढ र प्रवर्द्धन गर्नु रहेको छ ।
बैंक वास्तविक अर्थतन्त्रको लागि वित्तीय उत्पादनहरु मार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्दै अघि बढिरहेको छ । हाल यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् । यसको अध्यक्षमा पवन कुमार गोल्यान रहेका छन् ।
बैंकको वित्तीय अवस्था कस्तो छ ?
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यसले २ खर्ब १० अर्ब ३० करोड रुपैयाँको निक्षेप संकलन गरेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँको कर्जा परिचालन गरेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ ।
यसको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा रहेको छ । बैंकको नेदरल्यान्डको एफएमओसँग संयुक्त उद्यम सम्झौता भएको छ । एमएमओसँग यस बैंकको १३.६९ प्रतिशत सेयर रहेको छ ।
ब्याजदर
असोज महिनाका लागि एनएमबिले बचत खातामा ७ प्रतिशतसम्म ब्याज दिएको छ । त्यसैगरी मुद्दति खातामा ९.९९ प्रतिशतसम्म ब्याज प्रदान गरेको छ । यता, कर्जा तर्फ बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराएको छ । यसले सहुलियत दरमा विद्युत अटो लोन, होम लोन, शिक्षा लगायतमा कर्जा दिंदै आएको छ ।
बैंकको कुल सम्पति
यस एनएमबि बैंकको कुल सम्पति पनि हरेक वर्ष बढेको देखिएको छ । आर्थिक वर्ष २०७८–७९ मा यसको कुल सम्पति २ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । यता, ५ वर्ष अगाडि अर्थात, २०७४–७५ मा यसको कुल सम्पति १ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी
यसको खुद ब्याज आम्दानी पनि हरेक वर्ष बढेको देखिन्छ । आर्थिक वर्ष २०७४–७५ मा २ अर्ब रुपैयाँ रहेको यसको खुद ब्याज आम्दानी गत वर्षसम्म ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
खुद नाफा
५ वर्ष अगाडि १ अर्ब रहेको खुदा नाफा गत वर्षसम्म बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसले बैंकले सेयरधनीलाई पनि सोही अनुसार लाभांश वितरण गर्दै आइरहेको छ ।
लाभांश
एनएमबि बैंकले पछिल्ला ११ वर्षमा सेयरधनीलाई औसत १७.२३ प्रतिशत लाभांश वितरण गरेको छ । यसले २०६७–६८ देखि २०७८–७९ सम्म आइपुग्दा एक वर्ष मात्र प्रतिफल घोषणा गरेको छैन ।
तथ्यांक अनुसार बैंकले अधिकांश वर्ष डबल डिजिटमा लाभांश दिंदै आएको छ । गत वर्षको नाफाबाट यसको लाभांश वितरण क्षेमता ८ प्रतिशत रहेको छ । केही रकम प्रोभिजन गर्दा लाभांश क्षेमतामा कमी आएको हो । यसले सबै भन्दा धेरै आर्थिक वर्ष २०७५–७६ मा ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।