काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने बताएका छन् । उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले साे कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छाैं, अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।’
त्यस्तो संयन्त्रमा प्रधानमन्त्री कार्यालय, सरकार, अर्थमन्त्रालय, उद्योग मन्त्रालय, निजी क्षेत्रका सवै संगठन, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र अर्थशास्त्रीको सहभागिता रहने पनि प्रधानमन्त्रीले जानकारी दिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा मेजर अप्रेसनको जरुरि छ, हामीले अहिले अपनाउँदै आएको नीतिले काम गर्दैन भने ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेसन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । ‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन । रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ, वित्तीय र मौदि्रक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ । तर, मूल सुधार बाँकी छ,’ उनले भने ।