काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी गरेको हाे ।
प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी वित्तीय विवरण निर्देशिका जारी गरेको हो । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०/८० तथा सो पश्चात्का वित्तीय विवरणहरु यसै निर्देशन बमोजिम तयार पार्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
यस निर्देशिका अनुरुप प्राधिकरणले पुरानो व्यवस्थामा हुँदै आएको लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा कडाई गरिने भएको छ ।
निर्देशिका अनुसार बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० तथा सोपछिका आर्थिक वर्षहरुको वार्षिक वित्तीय विवरण यो निर्देशन बमोजिम तयार गर्नुपर्नेछ । जसअनुसार अब बीमा कम्पनीहरुले वित्तीय विवरणमा फाइनान्सियल स्टेटमेन्टको पोजिसन, प्रोभिट–लस, इक्विटी परिवर्तन, क्यास फ्लस, वितरणयोग्य मुनाफा जस्ता सूचकहरु समावेश गर्नुपर्नेछ ।
त्यस्तै, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीले वित्तीय विवरण पेश गर्दा प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्नेछ । साथै लघु बीमा कम्पनीले पनि ठूला बीमा कम्पनीले सरह नै वित्तीय विवरण तयार पार्नुपर्नेछ ।
बीमा कम्पनीको कुनै सहायक कम्पनी भएमा सम्बन्धीत कम्पनीले कन्सोलिडेटेड वित्तीय विवरणको ढाँचामा सहायक कम्पनीको हिसाबकिताब समेटी वित्तीय विवरण तयार गर्नुपर्नेछ ।
प्राधिकरणले बीमककाे लगानी सम्बन्धी निर्देशन २०७९ मार्फत् बीमित र शेयरधनीलाई लगानीमा उचित प्रतिफल दिलाउन जलविद्युत, सार्वजनिक पूर्वाधार, घरजग्गा, पर्यटन, हवाई सेवा लगायतकाे क्षेत्रमा लगानी गर्ने बाटाे खुल्ला गरिदिएकाे छ । यसै निर्देशिकाकाे प्रावधानलाई टेकेर बीमा कम्पनीहरुले कृषी कम्पनी, जलविद्युत, वैकल्पिक उर्जा, हाेटल, हाउजिङ र हवाई सेवा कम्पनीमा समेत लगानी गरिरहेका छन् ।