अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
घर जग्गाको नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग २० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका मेहताविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय र जरिवानाको मागदावीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।