बुटवल । नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका छन् । पश्चिम नवलपरासीबाट नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङ्ग गाउँपालिका–३ बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोटसहित बुधवार उनीहरूलाई पक्राउ गरेको थियो । लगत्तै प्रहरीले नक्कली नोट छाप्ने मेसिन बरामद गरेको हो । जिल्लाको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित उनीहरू पक्राउ परेका थिए ।

बर्दघाटमा पक्राउ परेका उनीहरूले बयानका क्रममा नक्कली नोट बनाउका लागि प्रयोग गर्ने मेसिन बुटवलमा राखेका बताएका थिए ।

सोही आधारमा बुटवलको अन्नपूर्ण खाजा तथा खाना घरबाट मेसिन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजीकुमार आचार्यले बताए ।

१ हजार दरका नक्कली नोटसहित पक्राउ परेका उनीहरूबाट नोट बनाउनका लागि प्रयोग हुने कागज, स्ट्याम प्याड, स्केललगायतका समानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोबाइल फोन बन्द गरेर ह्वाट्सएपबाट कुराकानी गर्दै आएका उनीहरूलाई महिला प्रहरीमार्फत हनी–ट्रयापमा पारेर पक्राउ गरिएको थियो ।

उनीहरू लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू चाडपर्वको मौका पारेर नेपाल आएका थिए ।

यसैबीच नक्कली नोट बनाउने गिरोह नै रहेको प्रहरीले जनाएको छ ।

बुधवार नै उनीहरूकै समूहमध्येका २ जना तनहुँमा पक्राउ परेका एसपी आचार्यले बताए । अनुसन्धानमा अहिलेसम्म ४ जना रहेको पाइएको उनले बताए ।

नक्कली नोट बजारमा साटेर सक्कली लिनका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका बजार क्षेत्रलाई लक्षित गरेर उनीहरू दुई समूहमा विभाजन भएका प्रहरीले जनाएको छ ।

‘यिनीहरूले ठूलो रकम दिएर नक्कली नोट साट्ने गरेको पाइएन, पसलमा १ सयको सामान किनेर ९ सय सक्कली नोट लिँदै हिँडेको पाइयो’ एसपी आचार्यले भने ।

पक्राउ परेका उनीहरूलाई मुद्रासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।