काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा काठमाण्डौमा सम्पन्न भएको छ । सभाले आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
सभामा बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एन.एफ.आर.एस.बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
बैंकको साधारण सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.), सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित भएका छन्।
उक्त सभामा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास व्यक्त गरेका थिए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको अध्यक्ष भण्डारीले जानकारी गराएका थिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।