बिजय फुयाँल
काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९ /८० को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । संचालनमा रहेका कतिपय बैंकहरुले लाभांस घोषणा गरिसकेका छन् भने बाँकी बैंकले पनि तिहार अगाडि नै लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।
अहिलेसम्म धेरै लाभांश दिनेमा एनआईसी एसिया बैंक रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंक र अहिलेसम्म लाभांश घोषणा गरेका बैंक हेर्दा नबिल बैंकले कति लाभांस दिन्छ होला भनेर आम लगानीकर्ताले कौतुलाताका साथ हेरिरहेका छन्। सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये नबिलले निरन्तररुपमा आकर्षक लाभांश दिँदै आएको छ । बैंकले पछिल्लो १२ वर्षमा दिएको औसत लाभांश हेर्ने हो भने ४३ प्रतिशत रहेको छ ।
१२ वर्षको बैंकिङ इन्डष्ट्रिको औसत वितरण दर कति ?
नबिल बैंकको पछिल्लो १२ वर्षको औसत लाभांश दर ४३ प्रतिशत रहेको छ । तर पूरै बैंकिङ समूहको औसत लाभांश दर १९.४६ प्रतिशत देखिएको छ । यसर्थ, नबिलले लगानीकर्तालाई निकै आकर्षक प्रतिफल दिंदै आएको तथ्यांकले नै देखाउँछ । यस बैंकले पछिल्ला १२ वर्षमा ३० प्रतिशत भन्दा कमको लाभांश वितरण गरेको छैन । बैंकमा हजारको लगानीगर्ने लखपति र लाखको लगानी गर्ने करोडपति बनाएका छन् । १२ वर्षको तथ्यांक अनुसार नबिलले सबै भन्दा धेरै आर्थिक वर्ष २०६९–७९ र २०७०–७१ मा ६५ प्रतिशतसम्म प्रतिफल वितरण गरेको छ ।
कस्तो छ नबिल बैंकको वित्तीय अवस्था ?
नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब २५ करोड ६० लाख नाफा कमाएको थियो । नेपाल बंगलादेश बैंक गाभिएपछि पनि यसको नाफा ह्वातै बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ९१ करोड ८८ लाखबाट बढेर १७ अर्ब ९८ करोड ३२ लाख पुगेको छ । त्यसैगरी सञ्चालन नाफापनि ११ अर्ब २ करोड ६० लाख पुगेको रिपोर्टमा देखिएको छ । अघिल्लो वर्ष यसको उक्त नाफा ६ अर्ब २८ करोड १५ लाख रहेको थियो ।
नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यसको जगेडा कोषको आकार पनि चुक्ता पुँजी बराबर पुगेको छ । नबिलको रिजर्भमा २७ अर्ब ७ करोड ७ लाख रहेको छ । यसले ३ अर्ब ९६ अर्ब ८४ करोड ३४ लाख निक्षेप संकलन गरेर ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
खराब कर्जा बढेको कारण यसको एनपीएल पनि १.६२ बाट बढेर ३.३० प्रतिशत सम्म पुगेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जादर बढ्दो छ । समग्र बैंकिङ इन्डष्ट्रिमा उक्त दर बढेको छ । त्यसैको प्रभाव नबिलमा पनि देखिएको हो ।
बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्षको भन्दा बढेको छ । २ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ रहेको लाभांश वितरण दर अहिले बढेर ३ अर्ब ९६ करोड १० लाख पुगेको छ । यसर्थ, नबिलले १४.६४ प्रतिशत प्रतिफल वितरण गर्न सक्न देखिएको छ । अरु वाणिज्य बैंकहरुको तुलनामा यो धेरै राम्रो हो । किनकी कतिपय बैंकको लाभांश क्षमता नै ऋणात्मक छ ।
ग्लोबल आइएमई बैंकले कुन वर्ष कति लाभांश वितरण गर्यो ? यो बर्ष कति देला लाभांस ?हेर्यौ