हिन्दु धर्मावलम्वीहरुको महान् चाड दशैँ । सामान्यतया दशैँ दश दिन मनाइन्छ । आश्विन शुक्ल प्रतिपदा नवरात्र का दिन घर–घरमा जमरा राखी दुर्गा भगवतीको नौ रुपको पूजा आराधना गर्ने गरिन्छ । दूर्गाको पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
जमरा राख्दा सप्त धान छर्ने गरिन्छ । जमराको रस स्वास्थ्यको लागि पनि उपयोगी मानिन्छ । देवी भागवत अनुसार– सीता वियोगमा सन्तप्त्त रामलाई नारदमुनिले आएर नवरात्रको उपासनाले उनको सम्पूर्ण कष्ट हरण हुने कुरा व्यक्त गरे र रामलाई आश्विनको नवरात्रको व्रत गर्ने प्रेरणा दिए ।
दुष्ट शक्तिमाथि विजय हासिल गरेको हुनाले विजया दशमीको रुपमा यस पर्वलाई मनाउन थालियो ।

दशैंको दश दिन यसरी मनाइन्छ :
पहिलो दिन
प्रतिपदाका दिन जमरा राखी सुरु हुने दशैँको पहिलो दिन घरको सरसफाई गरेर जमरा राखी दूर्गा भगवतीको पहिलो रुप शैलपुत्री को पुजा गर्ने गर्ने गरिन्छ । दशैँको पहिलो दिन यिनको पूजा आराधना गर्ने गरिन्छ । शैलपुत्रीको पूजाले धैर्य, शहनशीलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको छ । यस दिन पूजन पछि सेतो चिज तथा गाईको घ्यूले वनेको परिकार चढाउँनाले रोगबाट मुक्ति मिल्ने मानिएको छ ।

दोस्रो दिन
दशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्मचारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपस्या गरेर शिव भगवान लाई पति रुपमा वरण गरेकी थिइन् । ब्रह्मचारिणी शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजा पछि चीनी मिश्री र पञ्चामृत प्रसाद चढाउँनाले तथा दान गर्नाले दीर्घायु हुने मानिन्छ ।

तेस्रो दिन
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजा गर्ने गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई बिर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछ भनिएको छ । तेस्रो शक्तिको पूजा आराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान् हुने मानिन्छ । यस दिन पनि पूजा पछि दूधवाट बनेको पदार्थ प्रसाद लगाउनाले सम्पूर्ण दुख नास हुने मानिएको छ ।

चौथो दिन
नवरात्रको चौथो दिन भगवतीको कुष्माण्ड नामले आराधना गर्ने गरिन्छ । भगवती दूर्गाको कुष्माण्ड शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुप भएका कारण यिनलाई कुष्माण्ड भनिएको हो । पूजनपछि माल पूवाको प्रसाद चढाउने र बाँडेर खानाले बुद्धि दिमाग तीव्र हुने भनिएको छ ।

पाँचौँ दिन
पाँचौँ दिन स्कन्द माताको पूजा गर्ने गरिन्छ । स्कन्द माता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण स्कन्द माता भनिएको हो । स्कन्द माताको पूजा ले बच्चाहरुको संरक्षण हुने , तथा न्यालयमा विजय प्राप्तिमा सहयोग हुने मानिन्छ । यिनको पाँचौँ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ । स्कन्द माताको पूजाले आकाश तत्वको सन्तुलन हुन्छ । यस दिन देवीलाई केराको भोग लगाउने तथा प्रसाद बाँडेर खानाले बुद्धि विकाश हुने मानिएको छ ।

छैठौँ दिन
नवरात्रको छैठौँ दिन दूर्गाको कात्यायनी रुपको पूजन गर्ने गरिन्छ । महिषासुरको उत्पातले आक्रान्त पृथ्वीको संरक्षणको लागि महर्षि कात्यायनको घरमा उत्पत्ती भएका कारण कात्यायनी भन्ने गरिन्छ । भगवान कृष्ण पति पाउन गोपी हरुले यिनै भगवतीको पूजा गरेका थिए । कात्यायनी पूजा गर्नाले कन्याहरुले आफूले चाहेको बर पाउने कुराको उल्लेख छ । माता कात्यायनी को पूजा गर्नाले पवन, भूमि, ऐश्वर्य मिल्ने हुन्छ भनिएको छ । कात्यायनीको पूजाले समस्त मानसिक , दैविक , दैहिक कष्ट नाश हुने र घरमा सुख, शान्ति प्राप्त हुने विश्वास रही आएको छ ।

सातौँ दिन
नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । कालो स्वरुप भएका कारण कालरात्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धकार आदि नष्ट हुने मानिन्छ । यस दिन घर कोतमा फूल पाती पनि भित्राउने गरिन्छ ।

सप्तमीको दिन फूल पाती स्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, बेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तु हरु लाई बाजा बजाउँदै विधिवत् लगेर घर भित्र अथवा कोट मन्दिर हरुमा भित्र्याउने गरिन्छ ।

आठौँ दिन
नवरात्रको आठौँ दिन महागौरीको आराधना गर्ने गरिन्छ । यस दिनलाई महा अष्टमी पनि भनिन्छ । महागौरी आठ वर्षको उमेरमै कठोर तपस्यामा लिन हुदाँ शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएका कारण महागौरी भनिएको हो । यस दिन आफ्ना कुलदेवी कोत घरमा बलि पनि दिने प्रचलन छ तर वली अर्थ खासमा हिंसा भने होईन वली भनेको त निवेदन अथवा उपहार हो ।

बली भनेको मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकार रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु भनिन्छ । यस दिन देवीको वाहन सिंहलाई विधिवत् पूजन गर्ने र हात हतियार हरुको पूजा गर्ने प्रचलन पनि रहेको छ । महागौरीको पूजाको दिन नरिवलको प्रसाद लगाएर सबैलई बाडेर खानाले सकल मनोरथ पुरा हुने विश्वास छ ।

नवौँ दिन
दशैँको अघिल्लो दिन यानि नवरात्रको नवौँ दिन भगवती दूर्गाको सिद्धि दात्री स्वरुपको पूजा गर्ने गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा तथा विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ । सिद्धि दात्रीको पूजाले मनको अहंकार मेटिन्छ भनिएको छ ।

यसै दिन पूजन पश्चात् देवीलाई सम्पूर्ण प्रकारको अन्न तथा हलुवा, चना, पुरी, खीर, आदिका व्यञ्जनको भोग लगाएर गरिब दुखीलाई बाँड्नाले सबै प्रकारका कष्टको निवारण हुने बताइन्छ ।

दशौँ दिन
दशौँ दिनलाई दशैँ भन्ने गरिन्छ । नौ दिन सम्म गरिएको पूजा आराधनाको प्रसाद आर्शिवाद लिने दिनको रुपमा पनि दशैँलाइ चिनिन्छ । अश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले दशैँ भनियो ।
यस दिन भगवान रामचन्द्रले नारदका उपदेश ले नवरात्र व्रत गरी रावण माथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको भन्ने विश्वास रहि आएको छ । नौ दिनसम्म गरेको पूजामा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न राता अक्षताका तीन थुप्रा बनाई मध्यमा अपराजिता देवी दायाँ जया देवी र वाँया विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी अनि भगवती दूर्गा पितृ अन्य देवीदेवता चढाई त्यो टीका प्रसाद आफु भन्दा ठुलाको हातबाट थाप्ने चलन रहेको छ ।

मान्यजनको अशीर्वादले कसैले पनि आफु माथि दमन ९विजय० गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।