काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।

यस्तै, गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशत बढेर भदौसम्म १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने २.६ प्रतिशत बढेर १२ अर्ब १ करोड पुगेको छ ।