काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक सुचांकको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टमा आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको देखाएको हो । तरलता बढ्दै गएर लागत भार थपिने डरले बैंकहरुले निक्षेपको व्याजदर घटाएका बेला राष्ट्र बैंकले निक्षेप संकलन ऋणात्मक देखाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को दुई महिनाको तथ्याङ्कमा आधारित भनिएको वित्तीय स्थितिमा राष्ट्र बैंकले निक्षेप संकलन ०.१ प्रतिशतले घटेको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले १.२ प्रतिशतले बढेको देखाएको थियो ।
यो पल्ट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको र वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
मुद्रास्फीति ८.१९ रहँदा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको देखाइएको छ । आयात ५.१ प्रतिशतले घट्दा निर्यात ७.८ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति १२ अर्ब १ करोड अमेरिकी डलर रहेको जनाइएको छ ।
यस्तै विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ ।