काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने अनुमति दिएर ऐतिहासिक सुरुवात गरेको छ । बुक बिल्डिङका हकमा बोर्डको यो ऐतिहासिक फड्को हो ।
बोर्डले असो २९ गते सोमबार सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको हो । यसै कदमबाट बोर्डले बुक बिल्डिङमा हात हालेको छ ।
बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकाल अवधिमा बुक बिल्डिङ प्रणालीलाई कार्यान्वयनमा ल्याएर ऐतिहासिक सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् ।सर्वोत्तमले प्रतिशेयर ४०१ रुपैयाँ कटअफ मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ ।
कम्पनीले प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेकामा बोर्डले ४०१ रुपैयाँ कटअफ राखिदिएको हो । यसका लागि सर्वोत्तमले गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो ।