काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बुधबार बिहान बोर्डमा बसेको बैठकले कमिसन घटाउने निर्णय गरेको हो ।
बोर्डले उक्त निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी गरेको छ । अर्थ मन्त्रालयले त्यसको जवाफ पठाएपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।
बोर्ड स्रोतका अनुसार बैठकले हाल कायम रहेको दलाल कमिशन र बोर्ड शुल्कमा समग्रमा १०/१० प्रतिशतले घटाउने निर्णय गरेको छ ।
कमिसन घटाएसँगै लगानीकर्ताले प्रत्यक्ष लाभ पाउनेछन् । यसअघि धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोेपत्र बोर्डले २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३ प्रतिशत देखि ६० प्रतिशत सम्मले घटाएको थियो ।
जसअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७, ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।
त्यस्तै, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ भने सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०.१०, ५० लाख रुपैयाँसम्ममा ०.०५ र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क ब्रोकरले लिने गरेका छन् ।