काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्वमा कुनै पनि खालका उपहार नलिने जनाएकाे छ । रास्वपाले चाडपर्वमा कुनै पनि खालका उपहार नस्वीकार्ने र नदिने जनाएको हाे ।

जनताप्रति समदुरीमा रहेर सक्रिय रहनुपर्ने भन्दै रास्वपाले उपचारको आकर्षण र प्रलोभनबाट दलहरू मुक्त हुनुपर्ने भन्दै उनले उपहार लिने र दिने कार्यक्रम नगर्ने जनाएको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चाडपर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ । यस्तो संस्कार अत्यन्तै सकारात्मक भए पनि सम्पूर्ण जनताप्रति समदुरीमा रही जनसरोकारका सवालमा सक्रिय रहन उपहारको आकर्षण र प्रलोभनबाट कुनै पनि राजनीतिक पार्टी र राजनीतिकर्मी मुक्त रहनुपर्छ भन्ने अवधारणा अनुरुप रास्वपाले कुनै पनि खालका उपहार स्वीकार नगर्ने नीति लिएको छ, तसर्थ जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारमा आधारमा नभई जनसरोकारका मुद्दा केन्द्रीत हुनुपर्ने भएकाले हाम्रो यो नीतिलाई सकारात्मक शुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्बद्ध सबैमा आग्रह गर्दछौं । यसै नीति अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि केन्द्रीय सदस्य, सांसद तथा नेतृत्व तहका सदस्यहरुले उपहारका सम्बन्धमा देहाय बमोजिम गर्नुहुनु सूचित गरिएको छ ।’

रास्वपाले आफ्ना निकटम परिवारजनबाहेक अन्य कुनै पनि व्यक्ति तथा संस्थाबाट कुनै पनि किसिमको उपहार नलिने, कुटनीतिक नियोगका अधिकारीहरुसँगको शिष्टाचार भेटमा आ–आफ्नो मुलुकुको पहिचान झल्काउने मायाको चिनो वा कुनै राष्ट्रिय अवसरमा कुनै व्यक्ति संस्था वा अन्तर्राष्ट्रिय नियोगहरुबाट सन्देशमूलक पत्र वा कार्ड वा सामान्य मायाको चिनो लिन दिन सकिने जनाएको छ ।

पार्टीको उल्लिखित नीतिको पालनामा सहयोग गर्न बिना पूर्व सूचना रास्वपाका कुनै पनि नेता गण तथा सांसदहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा (कोही र कसैमार्फत) कुनै पनि उपहार पठाउने कष्ट नगर्न, नगराउन रास्वपाले अनुरोध गरेको छ ।