काठमाडाैं । हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आइसक्यो । पछिल्लो समय दशैंमा परिवार रसाथीहरुसंग घुम्न निस्किने प्रचलन बढ्दो छ । दशैै र तिहारको बेला अलिक दिन बिदा पनि हुने भएर होला यो समयमा नेपालका पर्यटकीय गन्तव्य भरिभराउ हुन्छन्। धेरैजसोको कहीँ न कहीँ जाने योजना बनेको हुन्छ । अनी तपाइको के छ योजना? कतै घुम्न जाँदै हुनुहुन्छ भने तपाइँकालागि यी ठाउँहरू उपयुक्त हुन सक्छन् ।
१. पोखरा
दशैं बिदामा घुम्न लायक स्थानमा पोखरा धेरैको पहिलो नम्बरमानै पर्छ । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तव्य हो । यसलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।
पोखरामा तपाई आफ्नो बजेटअनुसार पाँच तारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सक्नुहुन्छ । सफा र शान्त वातावरण पोखराको विशेषता हो । यति ठूलो शहरबाट आँखै अगाडी टलक्क टल्केका हिमाल देखिने सायद अरु गन्तव्य छैन । एक दिनका छोटा हाइकिङ रुटले यो गन्तव्यलाई अझ बढी आकर्षक बनाएका छन् ।
तपाई सारङकोट जानुस या धम्पुस, घान्द्रुक, शान्ति–स्तुपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । पोखरामा पर्यटनका अनेक आयामको विकास भएको छ । त्यहाँ पुगेर केवल खाने र बस्ने मात्र होइन, तपाईले प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमान्चक गतिविधिमा भाग लिन सक्नुहुन्छ ।
२. ढोरपाटन शिकार आरक्ष
ढोरपाटन शिकार आरक्ष नेपालकै एक मात्र शिकार आरक्ष हुनुका साथै यो क्षेत्रमा पर्यटकले रुचाउने कयौं प्राकृतिक स्रोत साधनको उपयोग गर्न सकिन्छ। ढोरपाटन उपत्यका र त्यहाँको रहन–सहन शहरीया उपत्यका भन्दा फरक आनन्द अनुभूति गर्ने क्षेत्र हो। उत्तरतर्फ बगिरहेको उत्तर गंगा नदीले पर्यटकलाई मनोरम दृश्यपान गराई तिर्खा मेटाउँछ।
शिकार आरक्षमा वर्षको दुई पटक हुने शिकार, यहाँ आउने विदेशी साहसिक शिकारी र त्यस क्षेत्रका स्थानीयको घुम्ती बसाइँ तथा रहन–सहन अर्को महत्वपूर्ण पाटो हो। यहाँ रहेको ढोर बराह मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ।
यातायातको सहजताले ढोरपाटनलाई अहिले सुगम गन्तव्य बनाएको छ। बागलुङ सदरमुकामदेखि करिब १२० किलोमिटर दुरी पार गरेपछि ढोरपाटन शिकार आरक्ष क्षेत्र पुग्न सकिन्छ।
३. मुक्तिनाथ
तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मुक्तिनाथ यात्रा सबैभन्दा उपयुक्त हुनेछ । दशंैको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय हो ।
त्यहाँ हिमालबाट शहरतर्फ झारिएका भेँडाबोकाको लस्कर देख्ने मौका मिल्नेछ ।
४. लाङटाङ
हिमालको फेदमै बसेको यो उपत्यकाको यात्रा गर्ने उपयुक्त मौसम नै यही हो । यहाँ जाँदा तपाइँको यात्रा केही कठिन हुन सक्छ । किनकी हिमालको फेदमै पुग्ने हो । यति थोरै दिनको यात्रामा हिमालसम्मै पुग्नै मौका अन्त सायदै भेटिएला ।
लाङटाङमा पर्यटकका लागि सुविधा पर्याप्त छन् । साना होटेल र होमस्टको समेत राम्रो सुविधा लाङटाङमा छ ।
५. बर्दिया
तपाई पूर्वबाट बर्दिया जाँदै हुनुहुन्छ भने एक रात लुम्बिनीमा बिताउन सक्नुहुन्छ । नत्र सीधै बर्दिया जाँदा पनि हुन्छ । तर, बर्दिया जान कम्तिमा ४÷५ दिनको समय निकालेरै जानुहोस् । पारिवारिक भ्रमणका लागि यो उपयुक्त गन्तव्य पनि हो ।
तपाई यहाँ होमस्टेमा बस्दा थारु समुदायको दशैंलाई अनुभव गर्ने मौका मिल्छ । जताततै हरियाली, न जाडो–न गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान झुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । जंगल सफारीमा समेत रमाउन सक्ने सुविधा यहाँ छ । बर्दिया बसाइँमा थारु समुदायका मौलिक परिकारसंग रमाउनुहोस ।
६. लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो । बौद्ध दर्शन अध्ययन(अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो ।
लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् ।मायादेवी मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्नु जोकोहीको लागि दुर्लभ अवसर हुन सक्छ ।
लुम्बिनी पुगिसकेपछि बुद्धसम्बन्धी अन्य पर्यटकीय ठाउँ नपुग्नु अपूरो यात्रा हुन सक्छ । बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट अर्को पुग्नैपर्ने ठाउँ हो । यो ठाउँ लुम्बिनीबाट २८ किलोमिटर दक्षिण(पश्चिममा पर्छ ।
कपिलवस्तुमा बुद्धसँग सम्बन्धित गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । यस्तै, भैरहवादेखि करिब ३५ किलोमिटर पूर्वमा रहेको प्राचीन कोलिय वंशको राजधानी तथा मायादेवीको माइती देवदह पनि महत्वपूर्ण छ । देवदह वरिपरि अन्य पुरातात्विक स्थल पनि छन् ।
७. खप्तड
शाह तथा ठकुरी वंशको उदगम भूमी बझाङको चैनपुरबाट दुई दिनकै यात्रामा खप्तड पुगिन्छ । खप्तडका लोभलाग्दा पाटनले यात्रा अविश्मरणीय बनाउने छ । खप्तड पुग्न पनि तपाईसँग समय छ भने धेरै कठिन यात्रा गर्नुपर्दैन । ताक्लाकोटबाट भेँडा–च्यांग्रा झार्दै गरेको फेला प¥यो भने त्यो दृष्यसमेत हेर्नलायक हुनेछ । खप्तडमा समेत खुलेको मौसमले प्रकृतिलाई निकै आकर्षक बनाएको हुन्छ ।
८. इलाम–ताप्लेजुङ
पूर्वी नेपालको धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना बनाउन सक्नुहुन्छ । ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भर पर्छ । ओलाङचुङगोलादेखि पाथिभरा जहाँ पुगे पनि यो यात्राले निकै रोमान्चकता दिनेछ ।
अब ढकमक्क फूल्ने सयपत्रीले बारीका डिल ढाक्न थालिसकेका छन् । पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ ।
९.नगरकोट
राजधानी काठमाण्डुबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । ३२ किलोमिटरको दूरीमा रहेको नगरकोटमा सहजै पुग्न सकिन्छ ।
यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ ।
१०.कालिञ्चोेक
काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ हो दोलखाको कालिञ्चोक । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् ।
कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।
१०. रारा
घुमफिर रुचाउने जोकोही नेपालीको चाहना हुन्छ, देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ ।
रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन् ।
११.पुनहिल पदयात्रा
दसैं विदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपूर मनोरञ्जन दिन्छ ।
पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।
पोखराबाट नयापूलसम्म सवारीसाधनको सुविधा छ । नयापूलबाट शुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयापूलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।
समुद्री सतहबाट २९०० मिटरमा उचाईमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्रीसतहबाट ३ हजार २ सय १० मिटर उचाईको पुनहिलबाट धौलागीरी, अन्नपुर्ण माछापुच्छे, निलगीरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाईन्छ ।
पुनहिलको अर्को विशेषता धौलागिरीमा सुर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागीरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरीको थकान भुल्न सकिन्छ ।
१२. रानीमहल
पाल्पाको तानसेन बौघागुम्हामा रहेको अर्को पर्यटकीय गन्तव्य हो रानीमहल । यसको आफ्नौ ऐतिहासिक विशेषता रहेको छ । रानीमहल वि.स. १९५० मा शिलान्यास भइ चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको हो ।
पाल्पाको तानसेनबाट १३ किलोमिटर दूरीमा बौद्धगुम्बा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा चिनिन्छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ ढुङ्गाबाट निर्मित दुईवटा पोखरी, दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो ।
यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको छ ।
दशैंमा बिभिन्न शक्तीपिठ तथा घर नजिकैको भगवती मन्दिरहरु घुमघाम गरेर पनि दशैं बिदालाई उपयोग गर्न सकिनेछ ।