काठमाडौं । चौधरी ग्रुपले मजदुरले बोनसको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौधरी ग्रुपले सीजी ब्रुअरी प्रालिमा कात्तिक १ गते मजदुरले बोनसको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

चौधरी ग्रुप कर्पोरेट कम्युनिकेसन्स विभागले आज एक विज्ञप्ति जारी गर्दै देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरी कार्यरत मजदुरहरूले अनधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय भएको जनाएको हो ।

गैरकानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सीजी ब्रुअरीले आफ्ना मजदुर/कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको सबैलाई विदितै छ । सोही कारण विगतमा समग्र औद्योगिक सम्वन्ध विग्रिएको अवस्थामा समेत सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको छ, सीजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर/कर्मचारीलाई विगत वर्षहरूमा छ महिनासम्मको बोनस वितरण गरेको थियो । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सीजी ब्रुअरीमा परेको छ ।’