काठमाडाैं । नजिकिँदै गरेको दशैंलाई कसरी स्पेसल बनाउने, के लाउने, के खाने भन्ने अग्रिम प्लान बनिसकेको हुन्छ । हिन्दू नेपालीहरुकोे महान् चाड दशैं सबैको घरदैलोमा आइसकेको छ । मिठो खाने र राम्रो लगाउने चाडको रूपमा चिनिएको दशैंमा अन्जानका कारण रोगको शिकार हुनुपुर्व आफ्नो ख्याल राख्न जरुरी छ । दशैंमा खाने परिकारमा धेरैले मासुका परिकार सम्झिन्छन् । तर मासु नखानेहरूले विभिन्न शाकाहारी परिकार बनाएर दशैंलाई स्वादिलो बनाउन सकिन्छ ।
ती मध्ये एक हो

च्याउको छोइला

च्याउको छोइला बनाउन च्याउलाई बोइल गर्नुस् र पानी निचोरेर ग्यासको फ्लेममा जालिमा राखेर पोल्नुस् र एक साइडमा राख्नुस् । अदुवा लसुन र सुकेको खुर्सानीलाई हल्का पोलेर भुटेको तोरीको तेलमा हालेर ब्यान्ड गर्नुस् र च्याउमा हाल्नुस् । बाँकी सम्पूर्ण सामान हालेर मुच्छनुस् । १ चम्चा तोरीको तेल तताएर मेथी डडाउनुस् र बेसार हालेर च्याउमा झान्नुस् । यसरी च्याउ छोइला तयार हुन्छ ।

पनिर बटर मसला

पनिर बटर मसला बनाउन बाक्लो खालको कराइ वा सते प्यान तताउनुस् । तेल हालेर जिरा, पुरा गरम मसला फुराउनुस् । अदुवा लसुनको पेस्ट हाल्नुस् र इन्डियन सम्पूर्ण मसला हालेर सानो आचमा भुट्नुस् ।

केही समय पश्चात गोलभेडा र गोलभेडाको पिउरी, काजु पेस्ट हालेर मज्जाले पकाउनुस् नून मरिच स्वादअनुसार हाली डाइस काटेको पनिर खन्याइदिनुस् । अरु १० मिनट पकाएर क्रिम, बटर हाल्दिनुस् ।

अन्त्यमा हरियो धनियाँ, कस्तुरी मेथी, मह हालेर निकाल्नुस् । तपाईँको स्वादिष्ट पनिर बटर मसला तयार भएको छ । अब तातो–तातो रोटी या पुलाउसँग खान सक्नुहुन्छ । पनिर बटर मसलालाई सिधै रेड ग्रेभीमा पनि बनाउन सकिन्छ ।
फलदारी कोफ्ता करी

फलदारी कोफ्ता करी बनाउन आलु, पनिर, गाँजर, चप गरेको ड्राइनट, उसिनेको काँचो केरा, अदुवा लसुनको पेस्ट १ चम्चा, सिजिनिङ बेसन हालेर गोलो–गोलो गुच्चाकार कोफ्ता बनाइ तातेको तेलमा फ्राइ गर्ने र ब्राउन गरी १ साइडमा राख्ने । अर्को कराइमा तताएर तेल हाली गरम मसला र जिरा फुराउँदै ग्रेभी भनाउने र अन्त्यमा क्रिम, बटर हिङ हाली चलाउने । फ्राइ गरेको कोफ्ता ग्रेभीमा हाली २ मिनट उमाल्ने र अन्त्यमा धनियाँ हालेर रोटी या सादा भुजासँग सर्भ गर्ने ।

मिक्स भेज बिरयानी

यसलाई पकाउन आधाभन्दा बढी होल गरम मसला हालेर २ लिटर पानी उमाल्नुस् र पखालेर चामल ओइराइदिनुस् । ठूलो आचमा चामललाई ७५ प्रतिशत पाक्ने पकाउनुस् र छान्नुस् । त्यतिन्जेल कराइमा तेल हालेर दही सहितको भेजिटेबल ग्रेभी बनाउनुस् र पाकेको मिक्स भेज ग्रेभीलाई साइड लगाइराख्नुस् ।

७५ प्रतिशत पाकेको चामलको ४ भागमा १ भाग डेक्ची या कसौडीमा हाल्नुस् र भेज ग्रेभीको ३ भागको १ भाग हाल्दिनुस् । फ्राइ गरेको ब्राउन प्याज, केसर, धनियाँ, पुदिना, घ्यू अलिअलि हालेर फेरि राइस हालेर छोपिदिनुस् । एकै तरिकाले ३ तह पूरा हुना साथ माथिबाट घ्यूमा भुटेको काजु, किसमिस, बदाम नरिवल, घ्यू, केसर, पुदिना, धनियाँ गुलाबजल, भुटेको प्याज हालेर टाइट हुने गरी छोपिदिने र सानो आचमा २० मिनेट पकाउने र पाकेपछि राइता सलादसँग स्वादिष्ट भेज बिरयानी खान सकिन्छ ।

यो जस्तै पनिर, तोफु, मस्यौराको पनि स्वादिष्ट छोइला बनाएर स्न्याक्सको रूपमा खान सकिन्छ । च्याउ चिल्ली, पनिर चिल्ली, तोफु चिल्ली, आलु चिल्ली पनि भेज खानेका लागि इस्न्याक्सको रूपमा बनाएर पस्कन सकिन्छ ।

दशैंका लागि मिठाइमा गाँजरका हलुवा, सेल रोटी, काजुको बर्फी, गुलाब जामन, दूध बरी, रसमलाई, कुराउनी बनाउन सकिन्छ ।