नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्व लाइ नवरात्र पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् ।
दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ ।
यो खास गरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।
नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् पर्व का रूपमा मनाइने विजयादशमी अर्थात् बडा दशैं धार्मिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको चाड हो।
दशैं मनाउनु पछाडि विभिन्न किंवदन्तीहरू सुन्न सकिन्छ। एउटा किंवदन्ती अनुसार मर्यादा पुरुषोत्तम रामले रावणलाई वध गरी असत्य माथि सत्यले विजयी प्राप्त गरेको दिनका रूपमा मनाउने गरिन्छ भने अर्को किंवदन्ती अनुसार महिषासुर राक्षस माथि देवी दुर्गाले विजय प्राप्त गरेको दिनका रूपमा अर्थात् दैवी शक्ति माथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा पनि दशैं मनाउने परम्परा रहेको भनेर मानिन्छ।

दशैंको पहिलो दिन गरिने घटको पूजा अर्थात् घटस्थापनाका दिन सुख–समृद्धि र ऐश्वर्यदायक तथा मङ्गलकारीको प्रतीक मानेर घटको स्थापना गरिन्छ। दोस्रो दिन तपलाई सिद्ध गर्नका निम्ति ब्रह्मचारिणीकी स्वरूपको पूजा गरिन्छ। तेस्रो दिन अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने चन्द्रघण्टा, चौथो दिन मृत्यु ,रोग र कमजोरीबाट मुक्ति दिने कुष्माण्ड, पाँचौँ दिन ज्ञान र विद्धताको लागि स्कन्द माता, छैटौँ दिन गुप्त रहस्य की प्रतीक कात्यायनी, सातौँ दिन सुख दायनी उग्र स्वरूपकी, आठौँ दिन सौन्दर्य र करुणामय महागौरी, नवौँ दिन सिद्धि दात्रीको पूजा गरिन्छ भने दशौँ दिन महादुर्गाको पूजा आराधना गरेर दशैं मनाउने प्रचलन छ। यसरी मानव जीवनको विभिन्न अवस्थाहरूलाई देवीको रूप दिएर पुज्ने प्रचलनलाई हेर्ने हो भने धार्मिक महत्त्व मात्र नभएर अन्य पक्षबाट पनि यस चाडलाई महत्त्वपूर्ण मान्न सकिन्छ।

मुख्यतः दशैंको महत्त्वपूर्ण पाटो भनेको रातो अक्षता र जमरा हो भने, दशैं भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा रातो रङमा पोतेको चामलको टिका र हरियो जमरा भनेर आउँछ।
टीका र जमराको आफ्नै महत्त्व रहेको पाइन्छ। टीका खाद्यान्न बाली धानबाट बनेको चामलले बनाइन्छ भने जमरा जौबाट बनाइन्छ। टीकाको महत्त्वको कुरा गर्नु पर्दा – टिकाले मस्तिष्कको तापक्रमलाई सन्तुलन राख्न मदत गर्ने तर्कहरू सुन्न सकिन्छ भने अर्को महत्व कृषिसँग कृषकहरूले धान र गहुँको सम्मान गर्दै आफ्नो सिरमा लगाउने भन्ने तर्कहरू पनि कतै सुन्न पाउँछौँ।
टीकाको धार्मिक महत्त्वको कुरा गर्नु पर्दा टीका निधारको मध्य भाग्य अर्थात् आँखीभौँको माझमा लगाइन्छ र यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्ने र टीकाको रूपमा देवीलाई आफ्नो निधारमा चढाइने तर्क पनि रहेको पाइन्छ। यसरी दशैंमा लगाउने टीकाको जस्तै जमराको महत्वलाई व्याख्या गर्नको निम्ति पनि विभिन्न तर्कहरू सुन्न र पढ्न पाइन्छ।
जमरा नेपालमा मात्र नभएर अन्य देशमा पनि पवित्र मानेर यसको स्थापना गर्ने र नेपालमा जस्तै नदीहरूमा लगेर विसर्जन गर्ने चलन रहेको छ। इरानको नयाँ वर्ष नौराजको लागि तयार पारिने सब्जीको सजावटको लागि जमराको प्रयोग गर्ने र १३ औँ दिनको दिनमा त्यो जमरा नजिकैको नदीमा लागेर नेपालीहरूले कोजाग्रत पूर्णिमाका दिनमा गरिने विसर्जन जसरी नै विसर्जन गर्ने प्रचलन रहेको पाइन्छ।

प्रकाशबाट जमरालाई धेरै दिन लुकाएर राखिने हुँदा यसले धानको महत्त्व झल्काउने र यसलाई कर्म र कृषिसँग जोडेर शृङ्गारका रूपमा व्याख्या गर्ने विभिन्न तर्कहरू भेट्न सकिन्छ।

दीर्घायुको प्रतीक मानिने जमरालाई स्वास्थ्यको हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ। शारीरिक व्यायाम गरेर जौ वा गहुँबाट बनेको जुस पियो भने शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने र धेरै रोग निको हुने वैज्ञानिक मान्यता छ। अहिले दशैंको बेला मात्र नभई अन्य समयमा पनि जमराको जुस पिउने प्रचलन छ।

बडा दशैं हिन्दु धर्मावलम्बीहरूले मात्र नभई केही किरात, बुद्ध धर्म मान्नेहरू र अन्य विभिन्न समुदायले आफ्नै महत्व बोकेको चाडको रूपमा मनाउने प्रचलन छ।
दशैं मनाउने प्रचलन विभिन्न समुदायमा फरक फरक छ। सबैले दशैंमा रातो टीका लगाएर मनाउने चलन छैन। कसैले सेतो र कुनै समुदायले कालो टीका लगाएर मनाउने प्रचलन रहेको छ । मुख्य रूपमा दशैंलाई राम र महादुर्गाको विजय भएको दिनको रूपमा हेर्ने र मनाउने प्रचलन रहेको छ।