काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् ।
हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन् ।
टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।
राष्ट्रपति उर्डोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हात मिलाएको तर उनले टर्कीको असल नियतको दुरुपयोग गरेको आरोप समेत लगाए ।
एर्डोगाल र नेतान्याहुले गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट गरेका थिए । उक्त भेटलाई टर्की र इजरायलबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधारको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको थियो ।