काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरेका छन् । कतिपयले भने साधारणसभाबाट उक्त प्रस्ताव पनि पारित गरिसकेका छन् ।

त्यस्तै अरु कम्पनीहरुले पनि प्रतिफल घोषणा गर्ने आन्तरिक तयारी थालेका छन् । लगानीकर्ताहरुले आफ्नो लगानी वित्तीय अवस्था राम्रो रहेका कम्पनीमा गर्दा लाभांश पाउन सक्ने सम्भावना धेरै रहन्छ । हरेक वर्ष शेयरधनीलाई लाभांश दिंदै आएको र वित्तीय अवस्था पनि राम्रो रहेको कम्पनीमा लगानी गर्दा लगानी केही सुरक्षित हुने जानकाहरुको भनाई छ ।

यता, कम्पनीको समग्र वित्तीय अवस्था कस्तो भनेर त्यसको प्रतिशेयर नेटवर्थ र प्रतिशेयर आम्दानीले पनि जनाउछ । त्यसैगरी कम्पनी कतिको सस्तो वा महँगो दरमा बजारमा उपलब्ध छ भनेर पीई रेसियोबाट केही हदसम्म थाहा पाउन सकिन्छ ।

यसै क्रममा सबै भन्दा धेरै नेटवर्थ रहेका ५ वटा बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीहरुको उदाहरण लिइएको छ । र तिनीहरुको पीई पनि निकालिएको छ ।

वाणिज्य बैंक
वाणिज्य बैंक तर्फ सबै भन्दा धेरै एनआइसी एशिया बैंकको प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ रहेको छ । यसको प्रतिशेयर आम्दानी ४०.२२ रुपैयाँ छ । यो गत वर्षको अन्तिम त्रैमासको वित्तीय रिपोर्ट अनुसार हो । यसको पीई रेसियो भने १३.४८ छ । १५ भन्दा कम पीई भएका कम्पनीमा गरिएको लगानी केही सुरक्षित मानिन्छ ।

यता, नेपाल बैंकको पीई १०.८ रहेको छ । सरल भाषामा बुझ्दा लगानीकर्ताले एक रुपैयाँ कमाउन यसमा १०.८ रुपैयाँ खर्च गर्नु पर्छ । त्यसैगरी एभरेष्टको १५.२६, नबिलको २१.२० र स्टान्डर्ड चार्टर्डको पीई १४.३२ रहेको छ ।

विकास बैंक
लुम्बिनी विकास बैंकको नेटवर्थ १८२.१७ रुपैयाँ रहेको छ । यसको पीई २१.०७ रहेको छ । प्रतिशेयर आम्दानी १८.११ रुपैयाँ रहेको छ । शीर्ष ५ विकास बैंकमध्ये कामना सेवाको सबै भन्दा कम १४६.४६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ । यसको पीई २२.८४ रहेको छ ।

महालक्ष्मी, गरिमा, मुक्तिनाथ विकास बैंकको पीई क्रमशः २७.१, १५.९४ र १८.१३ रहेको छ । विकास बैंक मध्ये सबै भन्दा कम पीई गरिमा विकास बैंकको देखिएको छ । यी बैंकहरुको पीई बिहीबारको अन्तिम कारोबार मूल्यबाट निकालिएको हो ।

फाइनान्स
वित्त कम्पनीमध्ये सबै भन्दा कम पीई मञ्जुश्री फाइनान्सको रहेको छ । यसको पीई २३.६९ रहेको छ । नेटवर्थ भने गुडविल फाइनान्सको सबै भन्दा धेरै २५२.११ रुपैयाँ रहेको छ । यसको पीई भने ४२.५१ रहेको छ ।
यता, ५ कम्पनीमध्ये सबै भन्दा कम नेटवर्थ पोखरा फाइनान्सको छ । यसको नेटवर्थ १४२.८८ रुपैयाँ रहेको छ ।

लघुवित्त
लघुवित्त कम्पनीमध्ये सबै भन्दा नेटवर्थ आत्मनिर्भर लघुवित्तको रहेको छ । यसको नेटवर्थ ४४१.०१ रुपैयाँ रहेको छ । त्यसैगरी ७७.९७ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको यसको पीई रेसियो भने २४.३ रहेको छ । पीई रेसियो कार्तिक २ गतेको बजार भाउ अनुसार निकालिएको हो ।

त्यसैगरी नेष्डोको ३२९.७२ नेटवर्थ छ भने प्रतिशेयर आम्दानी भने ५७.५५ रुपैयाँ रहेको छ । बिहीबारको दर भाउ अनुसार यसको पीई रेसियो २९.३८ छ ।

सबै भन्दा कम नेटवर्थ जीवन विकास लघुवित्तको रहेको छ । यसको नेटवर्थ २६३.०७ रुपैयाँ र इपीएस ३४.२८ रुपैयाँ रहेको छ । ५ वटै लघुवित्तको नेटवर्थ २५० रुपैयाँ माथि रहेको छ ।

बिजय फुयाँल