काठमाडौं । समस्याग्रस्त सहकारी संघ संस्थाहरुले बचतकर्ताको बचत फिर्ता रोक्न आफैले समय तोक्न पाउने भएका छन् ।
सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै जिन्सी सम्पत्ति भएको तर तरलता नभएका संस्थाहरुलाई श्वेतपत्र जारी गर्दै बचत फिर्ताको समय तोक्ने छुट दिएको हो ।
घरजग्गामा लगानी गरेका सहकारी संस्थाहरुले तरल सम्पत्तिको सहजता नभएसम्मका लागि प्रतिवद्धतापत्र सहित श्वेतपत्र जारी गरेर संस्थाले बचत फिर्ताको समय तोक्न सक्ने विभागका रजिष्ट्रार नमराज घिमिरेले जानकारी दिए ।
सदस्य बचतकर्ताहरुलाई विश्वास दिलाउनका लागि पनि सञ्चालकले संस्थाको वास्तविक हिसाबकिताब श्वेतपत्रमार्फत सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
तथापि, सहकारी संस्थाले यो सुविधाको उपभोग गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताको समय तोक्न सक्ने रजिस्ट्रार घिमिरेले बताए ।
‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छ । अहिले सहकारी बारे आइरहेको विषयवस्तुप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको र यसको लागि कार्यदल समेत बनिसकेको छ’ रजिष्ट्रार घिमिरेले बताए । राष्ट्रिय योजना आयोगको सदस्यको नेतृत्वमा सहकारी समस्या समाधान उच्चस्तरीय समिति बनेको उनको भनाइ छ ।
यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा यो अवस्था आएको उनले बताए । सञ्चालकले बदनियतले कारोबार गर्दा र आफ्नो वा आफ्न्तको कम्पनीमा लगानी गर्दा समस्या देखिएको उनले बताए ।