काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन्। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज (मंगलबार) सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्ताे बताएका हुन् ।

उनले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताए ।

चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए ।

महासचिव गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गरे । उनले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिए । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने पनि बताए ।

उनले भने, ‘ नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’

उनले नेपालको पछिल्लो २० वर्षको यात्राको पनि प्रशंसा गरे । उनले नेपाल गतिशील विकासमा अघि बढिरहेकाे बताउँदै यसमा सहयोग गर्न राष्ट्रसंघ तयार रहेकाे पनि बताए ।