काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ३५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको हो ।

यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनी यूएईको सातौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गल्सन झाद्वारा क्याच गराएका थिए ।

त्यसलगत्तै कुशल मल्लले यूएईका अर्का ब्याट्सम्यान आयान अफजल खानलाई आउट गराएका थिए । कुशल मल्लले आयानलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । उनी आठौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए ।

त्ससअघि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले पनि २६ रन बनाए । यूएईका कप्तानसमेत रहेका वसिमले १६ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन सराफुले १६ रन जोडे ।

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र अविनाष बोहराले पनि एक—एक विकेट हात पारे ।